Kakhara सबैको खबर सम्पूर्ण खबर
फाेहाेर उठ्न छाडेपछि खलंगा बजार दुर्गन्धित बन्दै

रुकुम पश्चिमको जिल्ला सदरमुकाम समेत रहेको खलंगा बजारको फोहोर नउठ्दा दुर्गन्ध फैलन थालेकाे छ । बजार क्षेत्रमा सङ्कलन भएको फोहोर सडक छेउमै थुपारिएको छ । फोहोर थुप्रिदा दुर्गन्ध फैलिन थालेकाे हाे ।

बजार क्षेत्रबाट सङ्कलन भएको फोहोर जिल्ला समन्वय समितिको कार्यालय नजिकैको सडक छेउमा र सहिद गेट नजिकै सडक छेउ लगायतका ठाउँमा थुपारिएको छ । लामो समयसम्म पनि नगरपालिकाले फोहोर नउठाउँदा फोहोर कुहिएर दुर्गन्धित हुन थालेको नजिकै व्यवसाय सञ्चालन गर्दै आउनुभएकी दिपा खड्काले बताउनुभयाे ।

IMG-20240809-WA0015-1723194468.jpg
उहाँका अनुसार नगरपालिकाले फोहोर नउठाएको एक हप्ता भन्दा बढी समय भइसकेको छ । नगरपालिकाले आफ्नो घर तथा व्यवसाय गर्दा निस्किएको फोहोर आफ्नै घर अगाडी राख्न भने पनि जम्मा भएको फोहोर सडकको छेउमा थुपार्दा नजिक पेसा व्यवसाय गर्ने व्यक्तिलाई समस्या हुने गरेको होटेल सञ्चालक राजकुमार खडकाकाे भनाई छ ।

होटेल नजिकै थुपारेको फोहोर एक हप्तासम्म नउठ्दा फोहोर कुहिएर दुर्गन्धित भएको र यसको समस्या आफूहरूलाई परेको होटेल सञ्चालक खड्काकाे भनाई छ । तत्काल फोहोर उठाउन नगरपालिकालाई उहाँले आग्रह गर्नुभयो ।

IMG-20240809-WA0021-1723194469.jpg
जिल्ला समन्वय समितिकाे पश्चिम गेट नजिकै जम्मा भएकाे फाेहाेर ।

यता मुसिकोट नगरपालिकाले भने बजारको फोहोर फाल्ने स्थान मुसिकोट नगरपालिका वडा नम्बर २ सतिपोलेमा फोहोर भरिएकाले बजारको फोहोर उठाउन केही समय लागेको बताएको छ । खलंगा बजारको फोहोर व्यवस्थापन गर्नको  लागि  नगरपालिकाले काम गरिरहेको मुसिकोट नगर प्रमुख महेन्द्र केसीले जानकारी दिनुभयो ।

उहाँका अनुसार सतिपोलेमा फोहोर भरिएकाले डोजर प्रयोग गरेर फोहोर साइट लगाउने तयारी गरिएको र त्यहाँ फोहोर फाल्ने ठाउँ व्यवस्थापन गरेर  केही दिनमै बजारको फोहोर उठाइने छ ।

प्रकाशित मिति: शुक्रबार, साउन २५, २०८१  १४:५९
प्रतिक्रिया दिनुहोस्
Weather Update