रुकुम पश्चिमको मुसीकोट नगरपालिकाले ५० शैय्याको कोभिड अस्पताल सञ्चालन गरेको छ । मुसीकोट नगरपालिका १, सल्लेमा रहेको राप्ती समाज अस्पताल भाडामा लिएर नगरपालिकाले अस्पताल सञ्चालन गरेको हो । अस्पताल मंगलबारदेखि नै सञ्चालनमा आएको छ । ५० जना विरामीको उपचार गर्ने गरी शैय्या तयार पारिएको छ । आवश्यक परेपछि थप शैय्या पनि व्यवस्थापन गर्न सकिने नगरपालिकाले जनाएको छ ।
हरेक महिना सवा दुई लाख रुपैयाँ भाडा तिर्ने गरी उक्त अस्पताललाई कोभिड अस्पतालको रुपमा सञ्चालन गरिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नरहरि तिवारीले बताउनुभयो । कोभिडको दर नियन्त्रण नभएसम्मका लागि उक्त अस्पताल नगरपालिकाले नै सञ्चालन गर्ने तिवारीले बताउनुभयो ।
अस्पतालमा नगरपालिकाले ४ जना स्वास्थ्यकर्मी परिचालन गरेको छ । आवश्यक परेपछि अरु पनि स्वास्थ्यकर्मी परिचालन हुने नगरपालिकाले जनाएको छ । अस्पतालमा ५ वटा अक्सिजन सिलिन्डरको व्यवस्था गरिएको छ । अरु सिलिन्डर पनि ल्याउने पहल भइरहेको नगरपालिका प्रमुख देविलाल गौतमले बताउनुभयो ।
‘अस्पताले ५० बेडको तयार भएको छ, सुरुवातमा केही अक्सिजन पनि आइसक्यो, अब अरु पनि ल्याउने प्रयास भइरहेको छ,’ नगरप्रमुख गौतमले भन्नुभयो । जिल्ला अस्पतालमा शैय्या अभावमा विरामीहरु बाहिर रहेको भन्ने खबर सार्वजनिक भएको थियो । जिल्ला अस्पताको आइसोलेसनका केही विरामीलाई यो अस्पतालमा सारिएको छ ।
मुसीकोट न गरपालिकाले तयार बनाएको कोभिड अस्पतालको अवस्था बुझ्न जिल्ला समन्वय समिति प्रमुख राजकुमार शर्मा, प्रमुख जिल्ला अधिकारी, जिल्ला अस्पतालका डा.राजकुमार भुजेल लगायतको टोली अस्पताल पुगेको थियो । नगरपालिकाले सञ्चालन गरेको अस्पतालमा जिल्ला अस्पतालका डाक्टर तथा स्वास्थ्यकर्मी पनि उपचार गर्नेछन् ।
जिल्ला समन्वय समिति प्रमुख राजकुमार शर्माले अब सबै पालिकाले हरेक दिन संक्रमित र विरामीको अवस्था बारे रिर्पोटिङ गनुपर्ने बताउनुभयो । सोही रिर्पोटका आधारमा उपचारको व्यवस्थापन गर्न सजिलो हुने भनाई उहाँको छ । त्यसका लागि सबै पालिकाले अनिवार्य रुपमा दिउँसो १ बजेसम्म विवरण तयार पार्नुपर्ने र सो विवरण जिल्लासम्म पठाउनुपर्नेमा ध्यान दिन सबैलाई आग्रह गर्नुभयो ।