रुकुम पूर्वको पुथाउत्तरगंगा गाउँपालिका वडा नम्बर १४ स्थित भालुखाप्चे भिरमा पदमार्ग निर्माण गरिएको छ । पहिरोले बगाएको १५ दिन पछि नयाँ पदमार्ग निर्माण गरिएको हो । सिस्ने २ का करिब २० युवाहरूले पदमार्ग निर्माणको लागि काम गरेका हुन् । याे कार्यमा पूर्व वडाध्यक्ष जीवन केसी पनि खटिनुभएकाे थियाे ।
काम थालनी गरेको ६ दिनपछि पदमार्ग निर्माण भएको छ । करिब दुई लाख बजेटमा पाँच सय मिटर लामो पदमार्ग निर्माण गरिएको छ । कुनै पनि सरकारी निकायबाट पदमार्ग निर्माणको लागि बजेट प्राप्त नभएपछि सिस्ने गाउँपालिका वडा नम्बर २ का निर्माण व्यवसायी तथा समाज सेवी नरहरि खड्काले पदमार्ग निर्माणको लागि आर्थिक सहयोग गर्नुभएको छ ।
पुरानो पदमार्ग पहिरोले बगाएपछि वैकल्पिक रूपमा नयाँ पदमार्ग निर्माण गरिएको हो । पदमार्ग पहिरोले बगाए देखि सिस्ने गाउँपालिका वडा नम्बर १ र २ तथा पुथाउत्तरगंगा गाउँपालिका वडा नम्बर ७, ८, ९ र १४ नम्बर वडाका सर्वसाधारण जोखिम मोलेर डोरीको भरमा यात्रा गर्नुपर्ने बाध्यता थियो ।
पदमार्ग निर्माण भए सँगै उक्त क्षेत्रका नागरीकहरूलाई अब सहज हुने भएको छ । यस क्षेत्रमा अहिलेसम्म सडक बिस्तार हुन सकेको छैन । त्यसकै कारण यस ठाउँका सर्वसाधारणलाई बर्षौ देखि ज्यानको बाजी राखेर यात्रा गर्नुपर्ने बाध्यता छ ।
समाज सेवी नरहरि खड्काले जनताले पदमार्ग अभावको कारण जोखिममा यात्रा गर्दा पनि सरकारवालाहरूको ध्यान नगएपछि व्यक्तिगत रूपमा सहयोग गरेर पदमार्ग निर्माण गरेकाे बताउनुभयो ।
सिस्ने गाउँपालिका दुई र पुथाउत्तरगंगाका चार वटा वडाका जनताले लामो समय देखि जोखिममा यात्रा गर्दा पनि सरकारी पक्षबाट वास्ता नहुन दुःख भएको उहाँले बताउनुभयो ।
`जनता ठुलो समस्यामा थिए यस क्षेत्रका नागरिकहरूलाई केही सहज होस भन्ने उद्देश्यले वैकल्पिक पदमार्गको भालुखाप्चेनिर्माण गरेका छौँ खड्काले भन्नुभयो तर यो त्यति मजबुत भने छैन जोखिम कायमै छ, वर्षा भयो भने माथिबाट ढुङ्गा खस्छ, कुन बेला पदमार्ग पहिरोले बगाउने हो टुङ्गो छैन, ज्यानको बाजि राखेर यात्रा गर्नु परेको छ उहाँले भन्नुभयो ।´