रुकुम पश्चिमका दूध उत्पादक कृषकले दूधमा १५ लाख अनुदान पाएका छन् । गत आर्थिक वर्ष २०८०/०८१ मा ४ सय ७७ जना कृषकले दूधमा १५ लाख अनुदान पाएका हुन् । पशु अस्पताल तथा पशु सेवा कार्यालयबाट प्रति लिटर ५ रुपैयाँका दरले अनुदान वितरण गरिएको थियो । यो विवरण गत वर्षको साउन देखि फागुनसम्मको मात्र हो ।
फागुन देखि असारसम्मको अनुदान भने बजेट अभावका कारण वितरण गर्न नसकिएको पशु अस्पताल तथा पशु सेवा कार्यालयका निमित्त प्रमुख शेरबहादुर खड्काले जानकारी दिनुभयो । करिब ४ सय जना कृषकले दूधमा अनुदान पाउन बाँकी रहेको उहाँको भनाई छ ।
बजेट अभावका कारण फाइल थन्किएको र अब उक्त अनुदान पाउने सम्भावना नरहेको बताइएको छ । फागुनसम्ममा भने जिल्लाका ४ स्थानीय तहका ४ सय ७७ कृषकले १५ लाख अनुदान पाएको उहाँले बताउनुभयो ।
उहाँका अनुसार मुसिकोट नगरपालिकाका ५६ कृषकले ४ लाख ५१ हजार ५ सय ९०, त्रिवेणी गाउँपालिकाका ३ सय ३४ कृषकले ७ लाख १६ हजार ७०, सानीभेरी गाउँपालिकाका ७१ कृषकले २ लाख ३१ हजार ७ सय ८० र बाँफिकोट गाउँपालिकाका १६ कृषकले १ लाख ५ सय ६९ रुपैयाँ अनुदान पाएका छन् ।
अनुदान पाउने कृषक मध्येमा सबैभन्दा बढी अनुदान मुसिकोट नगरपालिका वडा नम्बर ४ का राजु ओलीले पाउनुभएको छ । उहाँले १७ हजार ७ सय ६९ लिटर दूधबाट ८८ हजार ८ सय ४५ रुपैयाँ अनुदान पाएको निमित्त प्रमुख खड्काले बताउनुभयो । सबैभन्दा कम त्रिवेणी गाउँपालिका वडा नम्बर ३ का सीता ओलीले ६४ लिटर दूधमा ३ सय २० रुपैयाँ अनुदान पाएको बताइएको छ ।
कर्णाली प्रदेश सरकारले दूध उत्पादन वृद्धि गर्न दूधमा अनुदान दिने कार्यक्रम बनाएको छ । जसअनुसार प्रदेशका सबै जिल्लाका दूध उत्पादक कृषकले दूधमा हरेक वर्ष अनुदान पाइरहेका छन् ।