नेकपा एमालेको भातृ सङ्गठन युवा सङ्घ नेपाल रुकुम पूर्वले जिल्ला सदरमुकाम रुकुमकोटमा एक सडक मर्मत गरेको छ । रुकुमकोट-देउखाेला सडक खण्ड अन्तर्गत रुकुमकोटको लुस्पा धारा जाने बाटो मर्मत गरेको हो । हरेक महिनाको अन्तिम शनिवार धारा पँधेरा, मठमन्दिर, बाटोघाटो मर्मत सम्भार रेखदेख र सरोकारवालालाई ध्यानाकर्षण गर्ने सङ्घटनको निर्णय अनुसार आज श्रावण महिनाको अन्तिम शनिवार उक्त बाटो मर्मत गरिएको सङ्घले जनाएको छ ।
बाटोमा परेको खाल्डाखुल्डी ढुङ्गा हालेर पुरिएको युवा सङ्घ रुकुम पूर्वका अध्यक्ष मित्रलाल केसीले जानकारी दिनुभयो । साथै २ वटा खानेपानीका मुहानमा सरसफाइ समेत गरिएको छ । रुकुमकोटबाट देउखोला जोड्ने सडक खण्ड अन्तर्गत लुस्पा धारामा पानी भर्न, कपडा धुन र नुहाउन जाने नागरिकले धारा नजिकैको पिपल बोट नजिक ठुलो खोल्सा परेकोका कारण दैनिक समस्या भाग्दै आएका थिए । यो ठाउँमा सवारी साधन आवतजावतमा पनि समस्या भएको थियो । शनिवार बिहानै गएको टोलीले एक ट्र्याक्टर ढुङ्गा भरेर माथिबाट मसिनो गिट्टी बिछ्याएको अध्यक्ष केसीले बताउनुभयो ।
साथै रुलिखोलामा रहेको मुहान र पाखागाउँमा रहेको सौंरिखोला मुहानमा सरसफाइ गरिएको छ । उक्त कार्यक्रममा राष्ट्रिय युवा सङ्घ रुकुम पूर्वका अध्यक्ष मित्रलाल केसी, सङ्गठनका नेता, कार्यकर्ता, नेकपा एमालेका लेखा समिति अध्यक्ष चिन्तामणि दाहाल, पार्टी कार्यालय सचिव हरिहर पौड्याल, आआफ्नै टोलका स्थानीय नागरिक, बुद्धिजीवी, पत्रकार, प्रहरी लगायतको उपस्थिति रहेको थियो ।