रुकुम पश्चिमको सानीभेरी गाउँपालिका वडा नम्बर ४ की एक महिलाको हत्या प्रेम सम्बन्धका कारण भएको खुलेको छ । साउन २२ गते राती सानीभेरी गाउँपालिका वडा नम्बर ४ लामाचौरकी ४९ बर्षीया सुशीला मल्लको हत्या भएको थियो । मल्लको शव २३ गते बिहान ८ः१५ बजे आफ्नै घरको कोठामा फेला परेको थियो । सुशीलाको हत्या आरोपमा प्रहरीले रुकुम पश्चिमको चौरजहारी नगरपालिका वडा नम्बर ११ माथिल्लो सर्केनाका २३ बर्षीय प्रेम मल्ललाई पक्राउ गरी आइतबार पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरेको छ ।
प्रेम साउन २५ गते दिउँसो ३ बजेतिर आफ्नै घरबाट पक्राउ परेका हुन् । प्रेम र सुशीलाका बिचमा गत डेढ वर्षदेखि सम्बन्ध रहेको र महिलाले विवाहको लागि दबाब दिएपछि हत्या गरेको प्रेमले स्वीकारेको जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक नवराज पोखरेलले जानकारी दिनुभयो । मृतक सुशीला र प्रतिवादी प्रेमबिच डेढ वर्ष अगाडी जाजरकोटको रिम्ना मेलाबाट चिनजान भई फोन नम्बर साटासाट भई बेला बेलामा भेटघाट भइरहेको गरेको अनुसन्धानबाट खुलेको उहाँको भनाई छ ।
प्रहरीका अनुसार हत्याको अघिल्लो दिन गत सोमबार प्रेम भेटघाटका लागि सुशीलाको घरमा आई राती सँगै बसेको र बिहानै उठी जाजरकोटको रिम्ना बजार तथा रुकुम पश्चिमको चाइनाबगर बजार गई घुमफिर गरेर साँझ पुनः सुशीलाकै घरमा आएका थिए । त्यस रात १२ बजेतिर सुशीलाले आफूहरूको सम्बन्धका बारेमा घरमा र गाउँघरका मानिसहरूले थाहा पाइसकेको भन्दै विवाहको प्रस्ताव गरेपछि घटना घटेको अनुसन्धानबाट खुलेको डिएसपी पोखरेलको भनाई छ । प्रेमले सुशीलालाई विवाह गर्न सक्ने अवस्था नभएको भन्दै मार्ने मनसायका साथ फलामको तावा, सिलौटो, लोरो लगायतका घरेलु औजार हान्नुका साथै सलले घाँटी बाँधी थिचेर हत्या गरेको खुल्न आएको उहाँले बताउनुभयो ।
घटनास्थलबाट रगत जस्तो देखिने रातो पदार्थ लागेको फलामको तावा, सिलौटो, लोरो, बाङ्गिएको चम्चा बरामद गरेको प्रहरीले पत्रकार सम्मेलन मार्फत जानकारी दिएको छ । त्यस्तै प्रतिवादीको घरबाट मृतक सुशीलाको इनफिनिक्स कम्पनीको एक थान मोबाइल बरामद गरिएको छ ।
घटनाको अनुसन्धानका घटनाको जानकारी लगत्तै इलाका प्रहरी कार्यालय आठबिसकोटबाट प्रहरी निरीक्षक नवीन मरासिनी, इलाका प्रहरी कार्यालय चौरजहारीबाट प्रहरी निरीक्षक ईश्वर गिरी र त्यसपछि जिल्ला प्रहरी कार्यालयबाट प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक नवराज पोखरेलको कमान्डमा अनुसन्धान अधिकृत सहितको टोली खटिएको थियो ।
घटनाको थप अनुसन्धानका लागि कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतबाट प्रहरी वरिष्ठ नायव निरीक्षक नारायणप्रसाद शर्मा नेतृत्वको विशेष अनुसन्धान टोली र केनाईन शाखा कोहलपुर बाँकेबाट प्रहरी नायब निरीक्षक विष्णु पौडेलको कमान्डमा तालिम प्राप्त कुकर सहितको अनुसन्धान टोली पनि खटिएको थियो । प्रहरी घटनास्थलमा पुग्दा घाँटी, निधार र शरीरका अन्य भागमा चोटपटक लागी रगत बगेको अवस्थामा सुशीलाको शव फेला परेको थियो ।
प्रतिवादी प्रेमलाई आइतबार नै रुकुम जिल्ला अदालतबाट पहिलो पटक ५ दिनको म्याद थप गरी प्रहरी हिरासतमा राखेर अनुसन्धान भइरहेको डिएसपी पोखरेलले जानकारी दिनुभयो ।