रुकुम पश्चिमको एक वडाले वडामा आलु खेतीलाई विस्तार गर्न समिति गठन गरेको छ । जिल्लाको मुसिकोट नगरपालिका वडा नम्बर १० ले वडामा आलु खेती विस्तार गर्न १३ सदस्यीय समिति निर्माण गरेको हो । वडामा आलु खेती विस्तार गर्न, उत्पादन गर्ने किसानलाई प्रोत्साहन गर्न वडामा आलु खेती विकास किसान समिति गठन गरिएको वडा अध्यक्ष धनबहादुर खड्का‘बसन्त’ले जानकारी दिनुभयो ।
उहाँका अनुसार वडामा रहेका सवै बस्तिहरुलाई समेट्ने उदेश्यले वडामा रहेका चार वटा टोलबाट सदस्य रहने गरी लाइकराम खड्काको अध्यक्षतामा १३ सदस्यीय समिति निर्माण गरिएको छ । जसको सचिवमा मिना कंवर र कोषाध्यक्ष कर्णबहादुर खड्का रहनु भएको छ । समितिमा रहेका अन्य सदस्यहरु पनि खेती किसानमै आबद्ध किसानहरु रहेको वडा अध्यक्ष खड्काले जानकारी दिनुभयो । समितिले आलु खेती गर्ने किसानलाई प्रोत्साहन, वडा सरकार तथा अन्य निकायबाट अनुदानमा उपलब्ध भएको कृषिजन्य बस्तु सहि ठाउँमा प्रयोग भए नभएको रेखदेख तथा वडामा उत्पादन भएको आलुलाई बजारिकरणको लागि सहजिकरण गर्नेछ ।
वडामा आलु उत्पादन भएको वर्षौ भइसक्दा पनि परम्परागत शैलिमै उत्पादन भएकाले आलु खेतीलाई थप विस्तार तथा आधुनिक तरिकाले आलु उत्पादन गर्ने उदेश्यले समिति निर्माण गरिएको वडा अध्यक्ष खड्काले जानकारी दिनुभयो । ‘‘वडामा आलु कम उत्पादन हुने गरेको र जिल्लामै बिक्री हुने गरेकामा उत्पादन बढाएर जिल्ला बाहिर पठाउने उदेश्यका साथ लागेका छौँ, नयाँ तरिकाले उत्पादन गर्न किसानलाई प्राविधिक तालिम समेत दिने वडाले योजना बनाएको छ ,’’वडा अध्यक्ष खड्काले भन्नुभयो ।
वडामा किसानलाई आवश्यक पर्ने आलुको बीउ ५० प्रतिशत अनुदानमा उपलब्ध बनाउने समेत उहाँको भनाई छ । चालु आर्थिक वर्षका लागि वडा कार्यालयलाई आलु खेती विकासको लागि कृषि विकास कार्यालय रुकुम पश्चिमले १० लाख ६० हजार बजेट विनियोजन गरेको छ । सोही बजेटबाट किसानलाई अनुदानमा आलुको बीउ प्रदान गरिने वडा कार्यालयले जनाएको छ ।