Kakhara सबैको खबर सम्पूर्ण खबर
जिल्ला अस्पताल सल्लेमा बिरामीको चाप, टिनकाे छाप्राेमा वैकल्पिक बेड
बिरामीकाे चाप बढेपछि त्रिपालले घेरर व्यवस्थापन गरिएका बैकल्पिक बेड ।

रुकुम पश्चिम जिल्ला अस्पताल सल्लेमा बिरामीको चाप बढेपछि वैकल्पिक बेड व्यवस्थापन गरिएको छ । बिरामी चाप बढ्दै गएपछि बेड अभाव हुँदा अस्पताल विकास समितिले वैकल्पिक बेड व्यवस्थापन गरेको हो । हाल बाल रोग तथा हाड जोर्नी र नसा सम्बन्धी उपचार भइरहेको भवनको आँगनमा त्रिपालले बेरेर वैकल्पिक बेड व्यवस्थापन गरिएको अस्पताल विकास समितिका अध्यक्ष टेकबहादुर कुसारीले जानकारी दिनुभयो ।

गाडी पार्किङका लागि ग्रिल र जस्ता पाताको प्रयोगमा निर्माण गरिएको थाप्रोमा त्रिपालले बेरेर बेड राखिएको उहाँको भनाई छ । अहिले तत्कालका लागि ४ वटा बेड राखिएको र आवश्यक परेको अवस्थामा केही बेड अझै थप्न सकिने अध्यक्ष कुसारीको भनाई छ । उहाँका इमरजेन्सी वार्ड भरिएपछि मङ्गलवार वैकल्पिक रूपमा बेडको व्यवस्थापन गरिएको हो ।

हाल जिल्ला अस्पतालमा रहेको भर्ना कक्ष (आइपिडी वार्ड) र आकस्मिक कक्ष (इमरजेन्सी वार्ड) दुवै बिरामीले भरिएका छन् । बिरामीहरू बढिरहेको र मनसुनको बेला भएकोले सम्भावित विपत् का घटनालाई समेत मध्यनजर गर्दै वैकल्पिक बेड थपिएको उहाँले बताउनुभयो । १५ शय्या क्षमताको जिल्ला अस्पतालमा हाल ४० भन्दा बढी शय्या राखेर बिरामीको उपचार भइरहेको छ ।

455346837_1486726228617835_3354173559010761703_n-1723623178.jpg
बिरामीको चाप दिन प्रतिदिन बढ्दै जाने तर दरबन्दी र क्षमता भने १५ शय्याको हुँदा निकै समस्या भएको अस्पताल विकास समितिका अध्यक्ष कुसारीले बताउनुभयो । जनशक्ति तथा उपकरण र भौतिक संरचना समेतको अभावमा निकै सास्तिका बिचमा सेवा प्रवाह गर्नुपरेको अस्पताल स्रोतको भनाई छ । हाल जिल्ला अस्पतालबाट बाल रोग र महिला तथा स्त्री रोग गरी दुई वडा विशेषज्ञ सेवा प्रवाह भइरहेको छ ।

रोकिएकाे हाड जोर्नी र नसा सम्बन्धी विशेषज्ञ सेवा समेत तत्कालै सुचारु गर्ने तयारी भइरहेको बताइएको छ । पछिल्ला वर्षहरूमा जिल्ला अस्पतालको सेवा प्रभावकारी बन्दै गएपछि बिरामीहरूको चाप समेत बढ्दै गएको छ । जसका कारण व्यवस्थापनमा समस्या भइरहेको अध्यक्ष कुसारीले बताउनुभयो ।   

प्रकाशित मिति: बुधबार, साउन ३०, २०८१  १३:५७
प्रतिक्रिया दिनुहोस्
Weather Update