सिस्ने गाउँपालिका वडा नम्बर ६ स्थित आलामा पुग्दा युवाहरु आ–आफ्नै काममा व्यस्त देखिन्थे । कसैले पंखा चलाई रहेका थिए त कोही फलाम पिट्दै गरेको अवस्थामा भेटिए । उनिहरु अहिले फलामबाट बन्ने विभिन्न औजारहरु निर्माण गर्ने सिप सिक्दै छन् । तालिम सिकिरहेका लालबहादुर नेपालीले खुकुरी, हँसिया, खुर्पा, कुटो, कोदालो, चुलेसी, चक्कु, तरवार लगायतका कृषि औजार र गिफ्ट सामग्रीहरु बनाउन सिकिरहेको बताउनुभयो ।
पछिल्लो पुस्ताका युवाहरुले जोश जाँगर नमान्दा प्राय पुख्र्यौली पेशाहरु लोप हुने अवस्थामा छन । आरण व्यवसाय फलामका औजारहरु निर्माण गर्ने एउटा परम्परातगत पेशा हो । युवा पुस्ताले यो पेशामा चासो दिएको विरलै पाउन सकिन्छ । तर जिल्लाका युवाहरु भने राज्यको सहयोग पाएपछि आरण व्यवसायलाई व्यवसायीक र आधुनिक बनाएर रोजगारी सिर्जना गर्ने तयारीमा जुटेका हुन ।
सिप सिकौँ आत्म निर्भर बनौँ भन्ने मुल उद्ेश्यका साथ भगत सर्वजित सिप विकास प्रर्वद्धन कार्यक्रम अन्तरगत दलित समुदायका युवाहरुका लागी घरेलु तथा साना उद्योग कार्यालय रुकुम पूर्वले तिन महिने सिप विकास तालिम प्रदान गरिरहेको छ । यहाँका युवाहरुलाई फलामबाट बन्ने करिव १२० प्रकारका सामाग्र्री निर्माण गर्न सिकाईदैछ । यो तालिम सिकेपछी यहाँका युवाहरुलाई व्यवासयमा जोडिन सहज हुनुका साथै रोजगारी सिर्जना हुने तालिमका लागि सल्यानबाट आउनु भएका मुख्य प्रशिक्षक इन्द्र विक बताउनुहन्छ ।
विपन्न दलित समुदायका युवाहरुलाई सीप र प्रबिधि हस्तान्तरण गरि रोजगार सिर्जना गर्न आयोजना गरिएको तालिममा जिल्लाका तिनवटै गाउँपालिबाट १५ जना युवाको सहभागिता रहेको छ । लोप हुने अवस्थामा पुगेको परम्परागत आरण पेशालाई जोगाई राख्न र युवाहरुलाई रोजगारीमा जोड््न यो सिप विकास तालिमले ठुलो सहयोग पुग्ने दलित अधिकारकर्मी तथा तालिमका सहायय प्रशिक्षक हर्कविर कामीले बताउनुभयो । दलित समुदायका युवाहरुको हक, हित र अधिकारका निम्ति आफुले युवा लक्षित कार्यक्रमको पहल गरेको उहाँको भनाई छ ।
तिन महिनासम्म सञ्चालन हुने तालिमको सम्पूर्ण खर्च व्यवस्थापनका लागी १७ लाख ५० हजार बजेट बिनियोजन गरिएको छ । तालिम सिकेका युवाहरुलाई उद्योग सञ्चालन गर्न पनि आफुहरुले थप सहयोग गर्ने घरेलु तथा साना उद्योग कार्यालयका उद्योग अधिकृत ताराप्रसाद शर्माले बताउनुभयो । उहाँका अनुसार सिप सिकिरहेका युवाहरुलाई खाना, बस्न र नास्ता सहितको सुविधा दिइएको छ । तिन महिना तालिम पछि उनिहरुलाई प्रविधि पनि हस्तानतरण गरिने छ ।।