Kakhara सबैको खबर सम्पूर्ण खबर
रुकुम पश्चिममा ‘भुसको आगो’ बन्दै आत्महत्या, ४ वर्षमा १ सय १८ जनाले आत्महत्या गरे
सांकेतिक फाेटाे ।

रुकुम पश्चिममा आत्महत्या भुसको आगोझैँ सल्किरहेको पाइएको छ । भित्रभित्रै आत्महत्या विकराल समस्याका रूपमा देखा परेको छ । जिल्ला प्रहरी कार्यालयको तथ्याङ्क हेर्ने हो भने जिल्लामा आत्महत्याको समस्या भयावह छ । यसको मारमा बालबालिका देखि महिला तथा वृद्ध वृद्धा समेत परेका छन् । आर्थिक वर्ष २०७७÷०७८ देखि हालसम्मको ४ वर्षको तथ्याङ्क हेर्ने हो भने जिल्लामा १ सय १८ जनाले आत्महत्या गरेका छन् । लगभग सबै वर्षमा आत्महत्या गर्नेको सङ्ख्या उस्तै उस्तै देखिएको छ ।

आर्थिक वर्ष २०७७/०७८ देखिको तथ्याङ्क हेर्ने हो भने आत्महत्याको समस्या विकराल बन्दै गएको छ । उक्त वर्ष हालसम्म जिल्लामा सबैभन्दा बढी ३४ जनाले आत्महत्या गरेका थिए । आर्थिक वर्ष २०७८/०७९ मा केही सङ्ख्या घटेको देखिएको छ । उक्त वर्ष जिल्ला भरमा २६ जनाले आत्महत्या गरेका थिए । प्रहरीको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०७९/०८० मा २८ जनाले आत्महत्या गरेका छन् भने बितेको आर्थिक वर्ष २०८०/०८१ म २५ जनाले आत्महत्या गरेका छन् ।

बितेको वर्षमा आत्महत्या गर्नेमा सबैभन्दा बढी पुरुष ९ जना रहेका छन् । महिला ९ जनाले आत्महत्या गर्दा बालक ५ जना र बालिका पनि ५ जनाले आत्महत्या गरेको जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक नवराज पोखरेलले जानकारी दिनुभयो । उहाँका अनुसार बितेको वर्ष सबैभन्दा बढी झुन्डिएर २१ जनाले आत्महत्या गर्दा ३ जनाले विष सेवन गरेर र १ जनाले गोली हानेर आत्महत्या गरेका छन् ।

चालु आर्थिक वर्षको साउन महिनामा मात्र ५ जनाले आत्महत्या गरिसकेको डिएसपी पोखरेलको भनाई छ । साउन १ गते देखि अहिलेसम्म २ जना महिला, १ जना पुरुष र १ जना बालिका तथा १ जना बालकले आत्महत्या गरेको उहाँले बताउनुभयो ।

जिल्लामा आत्महत्या गर्नेहरूको तरिका हेर्दा सबैभन्दा बढी झुन्डिएर आत्महत्या गर्ने गरेको उहाँले बताउनुभयो । आत्महत्याका कारणहरू भने विभिन्न रहेका छन् । आत्महत्या गर्नुका पछाडि मानसिक रोग, परीक्षा, व्यवसाय र प्रेममा असफल, गरिबी, बालविवाह, बेरोजगारी लगायत देखिएको डिएसपी पोखरेल बताउनुहुन्छ ।

आत्महत्या न्यूनीकरणका लागि घर परिवार, समाज देखि सबै सरोकारवालाको महत्त्वपूर्ण भूमिका रहेको उहाँले बताउनुभयो । मानिसलाई जीवनप्रतिको माया जगाउनका लागि सबै मिलेर काम गर्नुपर्नेमा उहाँको जोड छ । आत्महत्या न्यूनीकरणका लागि प्रहरीले विभिन्न कार्यक्रमहरू गरिरहेको उहाँले जानकारी दिनुभयो ।

बुधवारबाट मात्र जिल्लामा आत्महत्या न्यूनीकरण अभियानको थालनी भएको बताउनुभयो । जिल्लामा आत्महत्या विकराल बन्दै गएको भन्दै उहाँले सबै सरोकारवालाको हातेमालोमा मात्र यसलाई कम गर्न सकिने र यसैका लागि अभियानको समेत थालनी भएको बताउनुभयो । जिल्ला, पालिका हुँदै वडा तहसम्मै यो अभियान अन्तर्गत सरोकारवाला सबैको साझेदारीमा आत्महत्या रोकथामका लागि विभिन्न सचेतनामूलक कार्यक्रमहरू सञ्चालन गरिने उहाँले बताउनुभयो ।  

प्रकाशित मिति: बिहीबार, साउन ३१, २०८१  १४:०१
प्रतिक्रिया दिनुहोस्
Weather Update