रुकुम जिल्ला अदालतले २ वर्ष अघिको सानीभेरी ९ का अमृत विक हत्या घटनामा पक्राउ परेका ४ जनालाई पुर्पक्षका लागि थुनामा पठाएको छ । जिल्ला न्यायाधीश रामप्रसाद बस्यालको बुधवारको इजलासले एकै घरका चार जनालाई पुर्पक्षका लागि कारागार चलान गरेको हो ।
कारागार चलान हुनेमा सानीभेरी ३ का दिर्घबहादुर गहतराज, केवलसिंह गहतराज, विज्ञान गहतराज र भूमिका विक रहेका छन् । उनीहरू एकै घरका दाजु बहिनी हुन् । सानीभेरी ९ खामोहालेका ३१ वर्षीय अमृत २०७९ साल साउन ३१ गते सानीभेरी गाउँपालिका ४ स्थित सानीभेरी नदीको किनारमा मृत फेला परेका थिए ।
२ वर्ष अघिको उक्त घटनामा अनुसन्धानका लागि प्रहरीले साउन ३ गते दिर्घबहादुर र अन्य तीन जनालाई साउन २१ गते पक्राउ गरेको थियो । साउन २७ गते जिल्ला अदालतमा मुद्दा दर्ता भएकामा अदालतले बुधवार पुर्पक्षका लागि कारागार चलान गरेको हो । मुद्दाको अन्तिम टुङ्गो नलाग्दासम्म अनुसन्धानका लागि अदालतले पुर्पक्षका लागि कारागार पठाउने गर्छ ।