रुकुम पश्चिमको चौरजहारी नगरपालिकावासीले अब अनलाइनबाटै राजस्व तिर्न सक्ने व्यवस्था नगरपालिकाले गर्न लागेको छ । राजश्व सङ्कलन कार्यलाई सहज र प्रविधिमैत्री बनाउन अनलाइन राजश्व सङ्कलन प्रणाली सुरु गर्न लागिएको निमित्त प्रमुख प्रशासकीय अधिकृत शेरप्रसाद ढकालले जानकारी दिनुभयो ।
राजश्व सङ्कलन प्रणालीलाई अनलाइन मार्फत भुक्तानीका लागि चौरजहारी नगरपालिका र खल्ती (एप) डिजिटल भुक्तानी सेवाबिच बिहीबार काठमाडौँमा सम्झौता भएको छ । बढ्दो डिजिटल साक्षरतासँगै सेवा प्रवाहमा सूचना प्रविधिको उपयोगलाई स्थापित गर्न अनलाइन मार्फत राजश्व सङ्कलन गर्ने व्यवस्था मिलाइएको ढकालले बताउनुभयो ।
अब नगरवासीलाई राजश्वका लागि नगद पैसा बोकेर नगरपालिका वा वडा कार्यालय जान अनिवार्य हुने छैन । प्रविधि उपयोग गर्न सक्ने नगरवासीहरूका लागि घरबाटै बसिबसी राजश्व बुझाउन सहज निमित्त प्रमुख प्रशासकीय अधिकृत ढकालले बताउनुभयो ।
उहाँका अनुसार यसबाट समयमै राजश्व बुझाउन नसक्दा करदाता जरिवानामा पर्ने अवस्था समेत अन्त्य हुने विश्वास गरिएको छ । व्यवसाय दर्ता, नवीकरण, समूह दर्ता, फर्म सूचीकृत लगायतका सेवाका लागि पहिलो चरणमा सेवा प्रवाह सुरु गरिने उहाँको भनाई छ । बाँकी सेवा विस्तार गर्दै लैजाने लक्ष रहेको उहाँले बताउनुभयो ।