Kakhara सबैको खबर सम्पूर्ण खबर
तीन वर्षमा एक सय ६३ वटा महिला हिंसा सम्बन्धीका उजुरी दर्ता 

जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वमा तीन वर्षको अवधिमा महिला हिंसा सम्बन्धीका एक सय ६३ वटा उजुरी दर्ता भएका छन् । आर्थिक वर्ष २०७८/७९ देखि आर्थिक वर्ष ०८०/८१ सम्म घरेलु तथा सामाजिक हिंसाका उजुरी परेको जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वले जानकारी दिएको छ । सामाजिक हिंसाका ४९ र घरेलु हिंसाका एक सय १४ वटा उजुरी दर्ता भएका हुन् । गत आर्थिक वर्ष २०८०/८१ मा घरेलु हिंसा सम्बन्धी ५४ र सामाजिक हिंसा सम्बन्धीका १६ वटा उजुरी दर्ता भएका छन् । 

यस्तै आर्थिक वर्ष ०७९/८० मा सामाजिक हिंसा सम्बन्धी २३ तथा घरेलु हिंसा सम्बन्धी ३४ वटा उजुरी परेका छन् भने त्याे भन्दा अघिल्लो आर्थिक वर्ष २०७८/०८९ मा सामाजिक हिंसाका १० र घरेलु हिंसाका २६ वटा उजुरी परेको जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वका सूचना अधिकारी प्रहरी निरीक्षक हरि भट्टराइले जानकारी दिनुभयो । उजुरी परेका मध्ये कार्यालयबाट एक सय ४६ जनाको मिलापत्र गरिएको छ भने १२ जनालाई जिल्ला अदालत रुकुम पूर्वमा पठाइएको छ । 

यस्तै उजुरी दिएका पाँच जना सम्पर्कमा नआएको प्रहरीले जनाएको छ । घरेलु हिंसा सम्बन्धीका घटनालाई स्थानीय तहमा समेत हेरिन्छ । 'तर प्रहरीमा उजुरी पर्ने क्रम कम भएकाे छैन प्रहरी निरीक्षक भट्टराइले भन्नुभयो-मदिरा सेवनका कारण घरेलु हिंसा बढी भएको पाइन्छ, अधिकांश उजुरी मदिरा सेवन गरी श्रीमानबाट कुटपिट भएको भनेर दर्ता हुने गरेका छन् ।' सामाजिक हिंसा सम्बन्धीका उजुरी बोक्सी आरोप तथा गाली बेइज्जती र झै झगडा लगायतका उजुरी दर्ता हुने गरेको जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वले जानकारी दिएको छ ।

प्रकाशित मिति: शनिबार, भदौ १, २०८१  १५:२०
प्रतिक्रिया दिनुहोस्
Weather Update