Kakhara सबैको खबर सम्पूर्ण खबर
वडाध्यक्षद्धारा पत्रकार माथि हातपातको प्रयास 
वडाध्यक्ष राेका ।

रुकुम पूर्वका एक वडाध्यक्षले पत्रकारमाथि हातपात गरेका छन् । पुथाउत्तरगंगा गाउँपालिका ९ का वडाध्यक्ष सुरवहादुर रोकाले रेडियो पुर्वी रुकुममा कार्यरत पत्रकारद्धय जितेन्द्र बुढाथोकी र बिक्रम परियार माथि हातपातको प्रयास गरेका हुन् । रिपोर्टिङको शिलशिलामा गाउँपालिकाको कार्यालयमा पुगेका पत्रकारद्धय माथि वडाध्यक्ष रोकाले २ पटक हातपातको प्रयास गरेका थिए । घुम्रिगाड खोला लघ जलबिद्युत आयोजनाको रकम भुक्तानीमा देखिएको विवादका बारेमा बुझ्न खोज्दा वडाध्यक्षले आफुहरु माथि हातपातको प्रयास गरेको पत्रकार बुढाथोकीले बताउनुभयो । 

‘वडाध्यक्ष रोका विद्युत आयोजनाको रकम भुक्तानीको माग सहित गाउँपालिकाको कार्यालयमा आउँनुभएको रहेछ, वडाध्यक्ष र गाउँपालिकाका लेखापालविचमा चर्काचर्की भइरहेको थियो, बाहिर सेवाग्राहीको लाइन थियो, त्यहि बेला के भएको हो भनेर बुझ्न जादा वडाध्यक्षबाटै २ पटक हातपातको प्रयास भयो उहाँले भन्नुभयो ।’विद्युत आयोजनाको मुद्धा अख्तियारमा परेकाले बजेट भुक्तानी दिन नसकिएको गाउँपालिकाले जनाएको छ । तर वडाध्यक्ष आफै बारम्बार गाउँपालिकामा आएर भुक्तानी माग गर्दै कर्मचारीलाई थर्काउने गरेको एक कर्मचारीले बताए । 

यो आयोजना सुरुमा संघीय बजेटबाट निर्माण सुरु भएको थियो । तर आयोजना विचमै अलपत्र परेपछि भने हाल यसमा गाउँपालिकाले बजेट विनियोजन गरिरहेको छ । गाउँपालिका उपाध्यक्ष ओमकुमार शाही मल्लका अनुसार पहिलो  चरणमा १० लाख बजेट विनियोजन गरिएकामा ५ लाख बजेट फ्रिज भएको थियो । यो वर्ष १५ लाख बजेट गाउसभा बाट पास भएको छ । यहि रकम भुक्तानीका लागि वडाध्यक्ष रोका बारम्बार गाउँपालिका धाईरहेका छन् । तर प्रक्रिया नपुगेको र अख्तियारमा मुद्दा रहेको भन्दै गाउँपालिकाले भुक्तानी दिन मानिरहेको छैन् । वडाध्यक्ष नेपाली कांग्रेसबाट वडाध्यक्षमा निर्वाचित हुनुभएको हो ।
 

प्रकाशित मिति: मंगलबार, वैशाख २१, २०७८  २०:४९
प्रतिक्रिया दिनुहोस्
Weather Update