Kakhara सबैको खबर सम्पूर्ण खबर
रुकुम पूर्वमा सवारी दुर्घटनामा ३ वर्षमा १६ जनाकाे मृत्यु 

रुकुम पूर्वमा तीन वर्षमा सवारी दुर्घटनामा परी १६ जनाको मृत्यु भएको छ । तीन आर्थिक वर्षको अवधिमा विभिन्न ठाउँमा भएका २८ वटा सवारी दुर्घटनामा १२ पुरुष र चार महिलाको मृत्यु भएको हो । आर्थिक वर्ष २०७८/०७९ मा विभिन्न चार प्रकारका १६ वटा सवारी दुर्घटना हुँदा ६ पुरुष र दुई महिलाको मृत्यु भएको थियो । यस वर्ष तीन वटा जिप, कार, एक वटा बस/ट्रक तथा सात वटा ट्याक्टर र पाँच वटा मोटरसाइकल दुर्घटना भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय रुकुम पूर्वले जानकारी दिएको छ । 

यस्तै आर्थिक वर्ष २०७९/८० मा सात जनाको मृत्यु भएको छ । तीन वटा सवारी दुर्घटनामा परी ६ पुरुष र एक महिलाको मृत्यु भएकाे हो । उक्त वर्ष एक वटा जिप, कार, एक वटा बस/ट्रक तथा एक वटा मोटरसाइकल दुर्घटना भएको थियो । यस्तै गत आर्थिक वर्षमा नौ वटा सवारी दुर्घटना हुँदा एक जना महिलाको मृत्यु भएको छ । गत वर्ष एउटा वटा अटो, चार वटा मोटरसाइकल तथा दुई वटा बस/ट्रक र दुई वटा ट्याक्टर दुर्घटना भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय रुकुम पूर्वका प्रमुख प्रहरी सहायक निरीक्षक मधु श्रेष्ठले जानकारी दिनुभयो । 

यस्तै तीन आर्थिक वर्षमा सवारी दुर्घटनामा परी ६१ जना घाइते भएका छन् । ४४ जना पुरुष र १७ जना महिला घाइते भएका हुन । २०७८/७९ मा २७ जना घाइते भएका छन् । १९ पुरुष र आठ महिला घाइते भएका हुन । यस्तै आर्थिक वर्ष २०७९/०८० मा १६ पुरुष र तीन महिला गरेर १९ तथा गत आर्थिक वर्ष २०८०/०८१ मा नौ पुरुष र ६ महिला गरेर १५ जना घाइते भएको ट्राफिक प्रहरी प्रमुख श्रेष्ठले जानकारी दिनुभयो ।

प्रकाशित मिति: आइतबार, भदौ २, २०८१  १६:५०
प्रतिक्रिया दिनुहोस्
Weather Update