रुकुम पश्चिमको मुसिकोट नगरपालिका वडा नम्बर ७ मा अवस्थित साँख दहमा डुङ्गा सञ्चालनमा आएको छ । स्थानीय नवीन विकले व्यक्तिगत लगानीमा डुङ्गा सञ्चालनमा ल्याउनुभएको हो । आइतबार वडाध्यक्ष एक्कबहादुर पाण्डेले एक कार्यक्रमका बिच डुङ्गाको उद्घाटन गर्नुभयो । डुङ्गा उद्घाटन गर्दै वडाध्यक्ष पाण्डेले साँख दहमा डुङ्गा सञ्चालन हुनुले यहाँको पर्यटन प्रवर्द्धनमा थप टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
हालसम्म गाउँ र दह हेर्नका लागि पुग्नेहरू अब देखि भने डुङ्गा चढ्नका लागि पनि साँख दहसम्म पुग्ने भएकोले पर्यटकको सङ्ख्या बढ्ने उहाँको विश्वास छ । करिब ४ लाखको लगानीमा डुङ्गा सञ्चालनमा ल्याएको सञ्चालक विकले बताउनुभयो । स्यार्पू तालबाट डुङ्गा ल्याएर सञ्चालन गरिएको उहाँको भनाई छ । एक पटकमा १० जना भन्दा बढी बस्न मिल्ने सुरक्षित र आरामदायी डुङ्गा सञ्चालनमा ल्याएको विकले बताउनुभयो ।
साँखमा पर्यटक बढाउने र केही मात्रामा भए पनि रोजगारी सिर्जना गर्ने उद्देश्यले व्यक्तिगत लगानीमा डुङ्गा सञ्चालन गरिएको उहाँले बताउनुभयो । वडाले यसबाट राजस्व समेत सङ्कलन गर्ने छ । यसबाट सरकारको आम्दानी समेत केही मात्रामा भए पनि बढ्ने छ ।
साँख दहमा बाह्रै महिना पर्याप्त पानी भने हुँदैन । वर्खायाममा पानी भरिए पनि हिउँद याममा भने ताल सुख्खा हुने गर्दछ । तालमा पानीको व्यवस्थापन गरेर बाह्रै महिना भरिभराउ गराउने तयारीमा वडा लागेको छ । यसका लागि लिफ्टिङका लागि पहल भइरहेको वडाले जनाएको छ । बाह्रै महिना ताललाई भरिभराउ गराउन सकेमा साँख गाउँको पर्यटन प्रवर्द्धनमा थप टेवा पुग्ने वडाध्यक्ष पाण्डेले बताउनुभयो । साँख दहमा यो वर्ष पशु अस्पताल तथा पशु सेवा कार्यालयले परीक्षण स्वरूप माछाका भुरा समेत राखेको छ ।