काभा यु–२० पुरुष भलिबल च्याम्पियनसिपका लागि १८ जना खेलाडीलाई प्रशिक्षणका लागि बोलाइएको छ । आगामी महिना श्रीलंकामा हुने प्रतियोगिताको लागि नेपाल भलिबल संघले १८ जना खेलाडीलाई प्रशिक्षणमा बोलाएको हो । केही समय अघि काठमाडौंमा सञ्चालन भएको यु–१९ भलिबल प्रतियोगितामा खेलाडीले गरेको प्रदर्शनका आधारमा खेलाडीलाई प्रशिक्षणमा बोलाइएको नेपाल भलिबल संघले जनाएको छ ।
भाद्र ८ गतेबाट सुरु हुने प्रशिक्षणका लागि कर्णाली प्रदेशबाट एक जना खेलाडी मात्र परेका छन् । रुकुम पश्चिमका ओपन स्पाइकर पहल गहतराज मात्र कर्णाली प्रदेशबाट अटाएका छन् । सबैभन्दा बढी गण्डकीबाट ६ जना, सुदुरपश्चिम र लुम्बिनी प्रदेशबाट समान ४/४ जना खेलाडी परेका छन् ।
त्यस्तै बागमति, मधेश र कोशी प्रदेशबाट पनि समान १/१ जना खेलाडी प्रशिक्षणमा बोलाइएका छन् । च्याम्पियनसिप असोज १७ देखि २३ गतेसम्म श्रीलंकाको कोलम्बोमा हुनेछ । छनोट भएका खेलाडीलाई भदौ ७ गते सम्पर्कमा आउन भनेको छ ।