मध्य पहाडी लोकमार्ग छेउछाउमा सरसफाइ गरिएको छ । रुकुम पूर्वको भूमे गाउँपालिकाको केन्द्र खाबाङ बगर देखि २ नम्बर वडाको काँक्रीसम्मको सडक खण्डमा रोपिएका बिरुवाको काट छाँट तथा सरसफाइ गरिएको हो । भूमे गाउँपालिका निवर्तमान अध्यक्ष रामसुर बुढाले एकल रूपमा उक्त काम गर्नुभएको हो । दुई किलोमिटर सडक खण्डमा रोपिएका धुपीका एक सय वटा बिरुवाको काट छाँट तथा त्यस वरपर रहेको झाडी सफाइ गरिएको उहाँले बताउनुभयो ।
उक्त बिरुवा २०७५ साल अर्थात् बुढा पालिका अध्यक्षमा निर्वाचित भएको एक वर्षपछि रोपिएको थियो । आफू पालिका अध्यक्ष भएको समयमा रोपिएका बिरुवा सात वर्षपछि आफैले गोडमेल गरेको बुढाले बताउनुभयो । हावापानी र माटोको बनावट हेरेर ४ नम्बर वडाको काँडा देखि काँक्रीसम्म मध्यपहाडी लाेकमार्गकाे ५ किलोमिटर दुरीमा लाेकमार्ग छेउछाउमा विभिन्न प्रजातिका बिरुवा रोपिएको थियो । सडक हरियाली बनाउने उद्देश्य सहित ग्रिन करीडोर कार्यक्रम अन्तर्गत बिरुवा रोपिएको थियो ।
दश दिनको समय खर्चिएर धुपी सल्लाका बिरुवा काट छाँट तथा झाडी सफाइ गरिएको बुढाले बताउनुभयो । साँझ बिहान गाई फर्मको रेखदेख गर्ने र दिउँसोको समयमा बिरुवा काट छाँट गरिएको उहाँको भनाई छ । बिरुवा रोपिए देखि यो वर्ष पहिलो पटक बिरुवाको काट छाँट तथा सरसफाइ गरिएको हो । अब प्रत्येक वर्ष यस कार्यलाई निरन्तरता दिने बुढाको भनाई रहेको छ । आफ्नै कार्यकालमा रोपिएका बिरुवाको आफैले संरक्षण थालेको उहाँले बताउनुभयो ।
यस कार्यबाट अरूले पनि पाठ सिक्नु पर्ने उहाँले बताउनुभयो । सडक छेउमा रोपिएका बिरुवाले पर्यावरणीयका साथै पर्यटकीय रूपमा समेत अर्थ राख्ने उहाँले बताउनुभयो ।