रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका वडा नम्बर ४ दम्दुका एक पुरुषको हत्या आरोपमा एकै घरका तीन जना पक्राउ परेका छन् । अन्दाजी ४३ बर्षीय दिलबहादुर बुढाको हत्या गरेको आरोपमा सोही वडाको कलटाकुरा बस्ने एकै घरका तीन जना पक्राउ परेका हुन् । पक्राउ पर्नेमा ६१ वर्षीय मोहवीर खत्री, उहाँको कान्छो छोरा २६ वर्षीय सन्तोष केसी र सन्तोषकी श्रीमती २४ बर्सिया मिनाकुमारी बुढाथोकी केसीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका सूचना अधिकारी प्रहरी निरीक्षक बखतबहादुर शाहीले जानकारी दिनुभयो ।
उहाँका अनुसार बुढाको आइतबार राति १० बजेतिर मृत्यु भएको हो । मृत्यु भएको खबर प्राप्त भएपछि प्रहरी निरीक्षक शाहीको नेतृत्वमा सोमबार बिहान प्रहरी टोली घटनास्थल पुगेको थियो । घटना शङ्कास्पद देखिएपछि प्रारम्भिक अनुसन्धान गर्दा हत्या भएको खुलेको प्रहरी निरीक्षक शाहीले जानकारी दिनुभयो ।
'प्रारम्भिक अनुसन्धानका क्रममा मृतक बुढाले मादक पदार्थ सेवन गरेर सन्तोशकी श्रीमतीलाई अपशव्द बोलेर हातपात गरेको र त्यसको प्रतिकार गर्ने क्रममा सन्तोशकी श्रीमतीले दाउराको चिर्पटले प्रहार गर्दा बुढाको मृत्यु भएको खुलेको छ, प्रहरी निरीक्षक शाहीले भन्नुभयो-यसमा सन्तोशको पनि संलगनता देखिएको छ, थप अनुसन्धानबाट खुल्ने छ ।' घटनास्थलको प्रारम्भिक अनुसन्धान सकाएर शव पोष्टमार्टमको लागि जिल्ला अस्पताल सल्लेमा राखिएकाे छ । भने हत्या आरोपमा पक्राउ गरिएका तीन जनालाई जिल्ला प्रहरी कार्यालयमा ल्याइएकाे प्रहरी निरीक्षक शाहीले जानकारी दिनुभयो ।