Kakhara सबैको खबर सम्पूर्ण खबर
आठबिसकोटबाट बाटाेमै सुत्केरी भएकी महिला र नवजात शिशुको हेलिकोप्टर मार्फत उद्धार
फाइल फाेटाे ।

रुकुम पश्चिमबाट सुत्केरी र नवजात शिशुलाई हेलिकोप्टर मार्फत उद्धार गरिएको छ । जिल्लाको आठबिसकोट नगरपालिका वडा नम्बर २ स्यालाबाट १८ बर्सिया दिपा रोका र उहाँको नवजात शिशुलाई नेपाली सेनाको हेलिकोप्टर मार्फत उद्धार गरी प्रदेश अस्पताल सुर्खेत लगिएको हो ।

उहाँ बाटोमै सुत्केरी हुनुभएको थियो । पेट दुख्यो भनेर गाउँकै स्वास्थ्य चौकीमा लैजाँदै गर्दा दिपाले बाटोमै छोरालाई जन्म दिएको वडाध्यक्ष देवबहादुर ऐरीले जानकारी दिनुभयो । उहाँका अनुसार दिपा समय अगावै सुत्केरी हुनुभएको हो । डेट आगामी असोजमा भए पनि दिपा सोमबार दिउँसो २ बजेतिर सुत्केरी भएको वडाध्यक्ष ऐरीको भनाई छ ।

बाटोमै सुत्केरी भएको खबर पाएपछि महिला स्वास्थ्य स्वयं सेविका रत्नकुमारी ऐरी लगायतको टोलीले दिपालाई स्वास्थ्य संस्था पुर्‍याएको थियो । दिपालाई रक्तस्राव नरोकिएको र नवजात शिशुको अवस्था समेत गम्भीर भएपछि हेलिकोप्टरका लागि नगरपालिका हुँदै जिल्ला प्रशासन कार्यालयमा पहल गरिएको वडाध्यक्ष ऐरीले जानकारी दिनुभयो ।

बेलुकीपख आएको हेलिकोप्टरले आमा र शिशुलाई लिएर सुर्खेत गएको हो । दिपाको घर र स्वास्थ्य चौकी आधा घण्टाको दुरीमा रहेको बताइएको छ ।

राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तर्गत हेलिकोप्टर मार्फत उद्धार गरिएको हो । जोखिममा रहेका गर्भवती तथा सुत्केरी महिला र नवजात शिशुको उद्धार गर्ने गरिएको छ । केही दिन अघि मात्र मुसिकोट नगरपालिका ११ स्यावाङकी एक सुत्केरी महिलालाई पनि हेलि मार्फत उद्धार गरेर सुर्खेत लगिएको थियो ।

प्रकाशित मिति: सोमबार, भदौ ३, २०८१  २०:२१
प्रतिक्रिया दिनुहोस्
Weather Update