रुकुम पश्चिमको मुसिकोट खलङ्गा बहुमुखी क्याम्पसले छात्राहरूका लागि न्यून शुल्कमा छात्रावासको व्यवस्था गरेको छ । भदौ १ गते देखि दलित तथा विपन्न, अपाङ्गता भएका लगायतका छात्राहरूका लागि न्यून शुल्कमा छात्रावासको व्यवस्था गरिएको हो । वार्षिक ३ हजार मात्र शुल्क लाग्ने गरी छात्रावासको व्यवस्था गरिएको क्याम्पस प्रमुख बुद्धिप्रसाद गौतमले जानकारी दिनुभयो ।
आर्थिक रूपमा समस्यामा रहेका छात्राहरूलाई लक्षित गरेर सहुलियत छात्रावासको व्यवस्था गरिएको उहाँले बताउनुभयो । क्याम्पसमा करिब १० देखि प्रयोग विहीन अवस्थामा रहेको छात्रावासलाई सञ्चालनमा ल्याएको उहाँको भनाई छ । दलित लक्षित बजेटबाट निर्माण भएको छात्रावास भवन वर्षौँ देखि प्रयोग विहीन अवस्थामा रहेको थियो । उक्त भवनको क्षमता अनुसार २४ जना छात्रालाई छात्रावासमा राख्न सकिने छ ।
अहिले १२ जना छात्राहरू छात्रावासमा बस्न सुरु गरिसकेको र भर्ना चलिरहेकोले अन्य छात्राहरू आएमा छात्रावासमा राखिने क्याम्पसले जनाएको छ । छात्रावासले आर्थिक रूपमा कमजोर रहेका छात्राहरूलाई सहयोग पुग्नुका साथै छात्राहरूको सुरक्षा समेत हुने र कक्षामा नियमित हुने अपेक्षा गरिएको क्याम्पस प्रमुख गौतमको भनाई छ ।
क्याम्पसमा विभिन्न सङ्कायमा बिएड, बिबिएस, बिए र एमएडको पढाई हुने गरेको छ । यो रुकुमको जेठो तथा मध्यपश्चिम विश्वविद्यालयको पहिलो आङ्गिक क्याम्पस समेत हो ।