रुकुम पूर्वको भुमे गाउँपालिकाले ५० वेडको कोभिड अस्थायी अस्पताल संचालनमा ल्याएको छ । बढ्दो कोरोना संक्रमणलाई लक्षित गर्दै गाउँपालिकाले वडा नं. २ को काँक्रिमा ५० वेडको कोभिड अस्थायी अस्पताल संचालनमा ल्याएको हो । गाउँ कार्यपालिकाको वैशाख १६ गतेको बैठकले यसअघि रहेको ५० वेडको क्वारेन्टाईनलाई कोभिड अस्थायी अस्पतालका रुपमा विकास गर्ने निर्णय गरेको थियो । जसअनुसार क्वारेन्टाईनलाई कोभिड अस्पतालका रुपमा संचालनमा ल्याईएको गाउँपालिका अध्यक्ष रामसुर बुढाले जानकारी दिनुभयो ।
कुल ५० वेड मध्येमा अहिले तत्काललाई ५ वेडमा अक्सिजनको व्यवस्था गरिएको उहाँले बताउनुभयो । अन्य नर्मल वेड छन् । गाउँपालिकाका स्वास्थ्य चौकीमा रहेका अक्सिजन सिलिण्डर जम्मा गरेर कोभिड अस्पतालमा राखिएको र थप अक्सिजनको खोजि भइरहेको उहाँको भनाई छ । ‘गाउँपालिकाका ५ वटा स्वास्थ्य चौकीमा रहेका अक्सिजन सिलिण्डर मध्ये ४ वटा अक्सिजन अस्पतालमा ल्याई जडान गरेका छौं, चुनवाङ स्वास्थ्य चौकी भने टाढा रहेकाले त्यहाँको अक्सिजन ल्याएका छैनौं, उहाँले भन्नुभयो, थप अक्सिजनको व्यवस्थापनका लागि विभिन्न ठाउँमा पहल भइरहेको छ ।’
क्वारेन्टाईनका लागि भनेर यसअघि नै ५० वेड र औषधि यस अघि नै गाउँपालिकाले खरिद गरिसकेको थियो । त्यसले गर्दा पनि अहिले सजिलो भएको गाउँपालिका अध्यक्ष बुढाले बताउनुभयो । उहाँका अनुसार अस्पतालका लागि स्वास्थ्यकर्मीहरु पनि तयारी अवस्थामा राखिएको छ । अहिले गाउँपालिकाका १ जना मात्र सक्रिय संक्रमित रहेका छन् । उनको पनि स्वास्थ्य अवस्था सामान्य रहेकाले होम आईसोलेसनमै रहेको गाउँपालिकाले जनाएको छ । अहिलेसम्म अस्पतालमा कसैलाई राख्न नपरेपनि भोलीका दिनमा अवस्था भयावह हुन सक्ने तर्फ सतर्क रहेको गाउँपालिकाले भनाई छ ।