रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका वडा नम्बर १ को विभिन्न ठाउँमा कागतीको बोटबाट फल झर्ने अज्ञात रोग देखा परेको छ । रोगका कारण वडाका विभिन्न ठाउँमा किसानले लगाएका कागतीका बोटहरुबाट तयार नहुँदै फल झर्न थालेका हुन् । कागतीको रुखबाट फल र्झन थालेको करिव एक हप्ताभन्दा बढी सयम भएको वडा अध्यक्ष सुन्दर ओलीले जानकारी दिनुभयो ।
उहाँका अनुसार अज्ञात रोगका कारण किसानको बारीमा फल टिप्ने समय नपुग्दै बोटनै खाली हुने गरी फल र्झन थालेका छन् । कागतीको फल झरेर भुँइमा बढी र बोटमा फल कम हुन थालेको वडा अध्यक्ष ओलीले जानकारी दिनुभयो । ‘‘मेरो पनि कागती बारी छ । कागतीको फल झरिरहेका छन् यो समस्या मलाई मात्र छैन् वडामा रहेका कागती खेती गर्ने ६०/७० जना किसानलाई छ’’ वडा अध्यक्ष ओलीले भन्नुभयो ।
वडामा करिव ७० देखि ८० जना कागती खेती गर्ने सिसान रहेका छन् । सबै किसानको समस्या बोटमा तयार हुँदै गरेको कागतीको फल झर्ने समस्या देखिएको छ । वडामा कागती उत्पादन गर्ने किसानले हरेक वर्ष १ क्विन्टल भन्दा बढी कागती फलाउने गरेका छन् । यस वर्ष भने अज्ञात रोगका कारण फल झरेकाले उत्पादनमा कम हुने उहाँले जानकारी दिनुभयो । कागतीको फल प्रयोग गर्न मिल्ने गरी कात्तिक देखि मंसिरको विचमा तयार हुने भएकाले झरेको फल प्रयोगमा नआउने उहाँको भनाई छ ।
रोग जाँचका लागि कृषि विषेशज्ञ ल्याउने तयारी
वडामा कागतीको फल अत्याधिक मात्रामा बोटबाट झर्न थालेपछि रोग जाँचको लागि कृषि विषेशज्ञ ल्याउने वडाले तयारी गरेको छ । रोग पहिचानको लागि पहल भइरहेको र अन्य किसानसँग पनि यसको बारेमा जानकारी लिइरहेको वडा अध्यक्ष ओलीले जानकारी दिनुभयो । रोग पहिचानको लागि वडाले पालिका, कृषि विकास कार्यालय तथा कृषि विषेशज्ञसँग समन्वय गरिहरहेको उहाँले जानकारी दिनुभयो ।
अवको केहि दिनमा किसानकै बारीमा पुगेर रोग जाँच गर्ने र क्षती हुनबाट कम गर्ने वडाले योजना बनाएको वडा अध्यक्ष ओलीले जानकारी दिनुभयो । तयार नहुँदै बोटबाट फल झर्न थालेपछि किसान चिन्तित बनेका छ्न् ।