Kakhara सबैको खबर सम्पूर्ण खबर
रुकुम उद्योग वाणिज्य संघ :  स्थानीय तहका उद्योगी तथा व्यापारिलाई कर शिक्षा दिँदै
कार्यक्रमा सहभागि उद्योगी तथा व्यापारिहरु ।

रुकुम उद्योग वाणिज्य सङ्घले कर शिक्षा अभियान सुरु गरेको छ । जिल्लाका ६ वटै स्थानीय तहमा सञ्चालनमा रहेका  उद्योगी तथा व्यापारीहरूलाई कर सम्बन्धी शिक्षा दिने उद्देश्यले सङ्घले पालिका स्तरीय कर शिक्षा अभियान सुरु गरेको हो । स्थानीय तहमा सञ्चालनमा रहेका उद्योग तथा व्यवसायहरूलाई चलायमान तथा कर सम्बन्धी शिक्षा दिने उद्देश्यले बुधवार देखी बाँफिकोट गाउँपालिकाबाट कर शिक्षा अभियान सुरु गरिएको रुकुम उद्योग वाणिज्य सङ्घका अध्यक्ष पलबहादुर खड्काले जानकारी दिनुभयो । 

उहाँका अनुसार उद्योगी तथा व्यापारीहरूलाई कर सम्बन्धी शिक्षा प्रदान गर्न र सङ्घको आवश्यकता तथा महत्वको बारेमा थप प्रस्ट बनाउन यो कार्यक्रमले महत्त्वपूर्ण भूमिका खेल्ने छ । बाँफिकोट गाउँपालिकाबाट सुरु गरेको कर शिक्षा अभियान समय मिलाएर जिल्लाका ६ वटै स्थानीय तहका उद्योगी तथा व्यापार व्यवसायीलाई सम्म पुर्‍याउने सङ्घले जनाएको छ ।

 बुधवार बाँफिकोट गाउँपालिकामा आयोजना गरिएको कर शिक्षा सम्बन्धी अन्तरक्रिया तथा छलफल कार्यक्रममा पालिकामा सञ्चालन भएका व्यवसायलाई समयमै दर्ता तथा नवीकरण गर्न, समयमै कर तिरी महँगो करबाट बच्ने लगायतका विषयमा शिक्षा प्रदान गरिएको सङ्घका वरिष्ठ उपाध्यक्ष दलबहादुर खड्काले जानकारी दिनभयो । उहाँका अनुसार खरिद गरेको वस्तुमा लाग्ने कर, तथा कर तिर्ने प्रक्रिया पनि सिकाइएको छ । त्यस्तै आफूले सञ्चालन गरेको व्यवसायबाट बिक्री वितरण हुने वस्तुको मूल्य सूचि उपभोक्ताले देखिने गरी अनिवार्य राख्न समेत व्यापारीहरूलाई सुझाव दिइएको छ ।

सङ्घका उपाध्यक्ष रवीन्द्र कुमार विष्टले उद्योग वाणिज्य सङ्घमा आबद्ध किन हुने त्यसको महत्वका विषयमा उद्योगी तथा व्यवसायीहरूलाई प्रस्ट पार्नुभएको थियो । आफ्नो व्यापार व्यवसायको हकहितको लागि स्थानीय तहसँग समन्वय सहकार्य गर्न पनि सङ्घमा आबद्ध हुनु पर्ने उपाध्यक्ष विष्टको भनाइ थियो ।

बाँफिकोट गाउँपालिका पूर्व अध्यक्ष तथा प्रमुख अतिथि धर्मबहादुर केसीले पालिकामा रहेका उद्योगी व्यवसायीहरूको यकिन तथ्याङ्क नरहेका यसको तथ्याङ्क राख्नुपर्ने र सङ्घले यता तर्फ पनि ध्यान दिनुपर्ने बताउनुभयो । सय शिक्षाले पेसा व्यवसायमा आबद्ध व्यक्तिलाई एकताबद्ध गरी पेसा व्यवसायलाई चलायमान गराउने विश्वास व्यक्त गर्नु भयो । त्यस्तै रुकुम उद्योग वाणिज्य सङ्घले स्थानीय स्तरमा उत्पादन हुने वस्तुलाई बजारीकरणको लागि पहल गर्नुपर्ने समेत पूर्व अध्यक्ष केसीले सुझाव दिनुभएको थियो । 

जिल्लाको सबै पालिकामा व्यापारीहरूलाई कर शिक्षा प्रदान गर्ने कार्यक्रम रहेकाले केही दिन भित्र त्रिवेणी गाउँपालिका र सानीभेरी गाउँपालिकामा कार्यक्रम सञ्चालन गर्ने रुकुम उद्योग वाणिज्य सङ्घले जनाएको छ । 

IMG_9590-1724251998.JPG

प्रकाशित मिति: बिहीबार, भदौ ६, २०८१  १७:४७
प्रतिक्रिया दिनुहोस्
Weather Update