Kakhara सबैको खबर सम्पूर्ण खबर
स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कनमा त्रिवेणी गाउँपालिका रुकुम पश्चिममा प्रथम 

रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका आर्थिक वर्ष २०७९/०८० को स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन (लिजा)मा प्रथम भएको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले हरेक वर्ष विभिन्न सूचकका आधारमा स्वमूल्याङ्कन नतिजाको परीक्षण गरेर नतिजा सार्वजनिक गर्ने गरेको छ । बिहीबार सार्वजनिक भएको आ.व २०७९/०८० को नतिजा अनुसार जिल्लाका ६ पालिकामा त्रिवेणी गाउँपालिका प्रथम भएको हो । उसले १०० मा ८२.५० अङ्क प्राप्त गरेको छ ।

दोस्रो स्थानमा रहेको चौरजहारी नगरपालिकाले ८०.५० अङ्क प्राप्त गरेको छ । आठबिसकोट नगरपालिकाले ७२, सानीभेरी गाउँपालिकाले ७१.७५, मुसिकोट नगरपालिकाले ७१ र सबैभन्दा कम बाँफिकोट गाउँपालिकाले ५६ अङ्क प्राप्त गरेको छ । विभिन्न १० वटा सूचकका आधारमा स्थानीय तहको संस्थागत क्षमता स्वमूल्याङ्कन हुने गरेको छ ।

जसमा शासकीय प्रबन्ध, सङ्गठन तथा प्रशासन, वार्षिक बजेट तथा योजना तर्जुमा व्यवस्थापन, वित्तीय एवं आर्थिक व्यवस्थापन, सेवा प्रवाह, न्यायिक सम्पादन, भौतिक पूर्वाधार, सामाजिक समावेशीकरण, वातावरण संरक्षण तथा विपत् व्यवस्थापन, सहकार्य र समन्वय रहेका छन् । पालिकाको कार्य प्रक्रिया र उपलब्धिको लेखाजोखा गरी शासकीय प्रक्रिया र विकास व्यवस्थापनमा गर्नुपर्ने सुधारका क्षेत्रहरू पहिचान गर्ने, आवधिक समीक्षाको आधार प्राप्त गर्ने र स्थानीय सरकार बिच स्वस्थ प्रतिस्पर्धाको भावना जागृत गराउने उद्देश्यले स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन भइरहेको छ ।

प्रकाशित मिति: शुक्रबार, भदौ ७, २०८१  १२:१४
प्रतिक्रिया दिनुहोस्
Weather Update