नेकपा (माओवादी केन्द्र) निकट अखिल नेपाल महिला संघ(क्रान्तिकारी) मुसिकोट नगर समिति रुकुम पश्चिमको दोस्रो नगर सम्मेलन सम्पन्न भएको छ । शुक्रबार मुसिकोट नगरपालिका वडा नम्बर ५ सहिद प्रतिष्ठानको सभाहल सेरिगाउँमा भएको सम्मेलनले नयाँ नेतृत्व गरेको छ । महिलाहरुको भेलाले निर्मला रसाइलीको अध्यक्षतामा दुई जना पछि थप्ने गरी ३५ सदस्यीय नगर कमिटी निर्माण गरेको हो ।
जसको उपाध्यक्षमा विमला खनाल, दिवशा ओली खड्का, सचिवमा रचना पुन मगर, सह सचिवमा कल्पना घर्ती मगर र कोषाध्यक्षमा दिलमाया खड्कालाई चयन गरिएको छ । संघमा नगरभित्रका १४ वटै वडाबाट २÷२ जना महिलालाई छनोट गरिएको नेकपा माओवादी केन्द्रका नगर कमिटी अध्यक्ष दलबहादुर खड्काले जानकारी दिनुभयो । उहाँका अनुसार सम्मेलनमा संघका निवर्तमान अध्यक्ष कमला बुढाले संगठनात्मक प्रतिवदेन समेत पेस गर्नुभएको थियो ।
संघका निवर्तमान अध्यक्ष बुढाको अध्यक्षतामा भएको सम्मेलनमा नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य लुम्बीनी गौतमको प्रमुख आतिथ्यता रहेको थियो । त्यस्तै पार्टीका केन्द्रीय निर्वाचन आयोगका सदस्य देविलाल गौतम, केन्द्रिय सदस्य तथा जिल्ला समन्यव समिति संयोजक गोविन्द रोका (सचिन), केन्द्रिय सदस्य प्रेमकुमारी सुनार, वैकल्पिक केन्द्रिय सदस्य वुद्धिप्रसाद गौतम नगर समिति अध्यक्ष दलबहादुर खड्का लगायतको आतिथ्यता रहको थियो । कार्यक्रममा पाटीका जनवर्गीय संगठन तथा नेता कार्यकर्ताको सहभागिता रहेको थियो ।