रुकुम पश्चिम र जाजरकोटमा भेरी १ अर्धजलाशययुक्त जलविद्युत आयोजना निर्माण हुने भएको छ । रुकुम पश्चिमको आठबिकोट नगरपालिका र जाजरकोटको नलगाड नगरपालिकामा २ सय ७० मेगावाट क्षमताको जलविद्युत आयोजना बन्ने भएको हो । नलगाड १०, ११, १२ र १३ तथा आठबिसकोटको वडा नम्बर ४, ५ र ६ भएर भग्ने ठुली भेरी नदीमा यो आयोजना निर्माण हुन लागेको छ । भेरीको पानी प्रयोग गरेर आयोजना निर्माण गर्ने र पानी पुनः भेरीमै फाल्ने गरी आयोजना निर्माण हुन लागेको हो ।
यस आयोजनाको वातावरणीय प्रभाव मूल्याङ्कन सकिएको छ । शुक्रवार वातावरणीय प्रभाव मूल्याङ्कनको सार्वजनिक सुनुवाइ भएकाे छ । आठबिसकोट नगरपालिका वडा नम्बर ६ को कार्यालयमा भएको सार्वजनिक सुनुवाइ कार्यक्रममा आठबिसकोट नगरपालिकाका प्रमुख रवि केसीको प्रमुख आतिथ्यता रहेको थियो । त्यस्तै प्रभावित क्षेत्रका वडा अध्यक्षहरू, स्थानीय सरोकारवाला, समाजसेवी, राजनैतिक दलका प्रतिनिधि, स्थानीय युवा, एवं बुद्धिजीवी लगायतको उपस्थिति रहेको थियो ।
गेजुवा ग्रुप पावर कम्पनीले आयोजनाको निर्माण पूरा गर्ने गरी वातावरणीय अध्ययनको लागि नेपाल रुलर एन्ड इन्भेस्टमेन्ट कमिटीलाई वातावरणीय अध्ययनको जिम्मा दिएको थियो । यस आयोजनाबाट आठविसकोटका वडा नम्बर ४, ५ र ६ तथा नलगाडका वडा नम्बर १०, ११, १२ र १३ का विभिन्न क्षेत्र प्रभावित हुने छन् ।
नगर प्रमुख केसीले स्थानीयले निकै चासो र गौरवको रूपमा लिएको यस आयोजना सफल पार्न नगरपालिकाले सकारात्मक सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो । साथै यो यस आयोजनाले आठविसकोट नगरपालिका भित्र आर्थिक समृद्धिमा ठुलो टेवा पुग्ने र स्थानीय स्तरमा रोजगारी सिर्जना हुने विश्वास व्यक्त गर्नुभयो ।
आठबिसकोट नगरपालिका ५ का वडाध्यक्ष घनश्याम भण्डारीले दुर्गम क्षेत्रमा जलविद्युत आयोजना बन्नु भनेको विकासको नयाँ आयाम थपिनु रहेको बताउनुभयो । वडा नम्बर ४ का वडाध्यक्ष नरसिंह विष्टले आयोजना छिटो सम्पन्न गरेर जनतालाई विकासको महसुस गराउनुपर्नेमा जोड दिनुभयो ।
आयोजना निर्माण हुँदा स्वास्थ्य जोखिमका विषयमा निर्माण टिमले विशेष ध्यान दिनुपर्नेमा स्वास्थ्य चौकी प्रमुख कर्णबहादुर केसीले जोड दिनुभयो । उहाँले ध्वनि प्रदूषण, वायु प्रदूषण र महामारीको सम्भावित जोखिममा सजग हुन सुझाव दिनुभयो ।
छिमेकी वडा आठविसकोट ३ का वडाध्यक्ष केशरमान विकले यो आयोजना आठबिसकोट र नलगाडका जनताको लागि कोशेढुंगा साबित हुने विश्वास व्यक्त गर्नुभयो । साथै उहाँले न्यायोचित शेयर बाँडफाँटमा जोड दिनुभयो । स्थानीय युवा विशेष भण्डारीले युवाहरूको सहभागिता हुने गरी आयोजना निर्माण हुनुपर्नेमा जोड दिनुभयो । साथै स्थानीय वातावरण संरक्षण, जैविक विविधता, त्यसको दिगो व्यवस्थापनमा ध्यान दिन उहाँले आयोजनालाई सुझाव पनि दिनुभयो ।
सार्वजनिक सुनुवाइ कार्यक्रमका अध्यक्ष समेत रहनुभएका आठबिसकोट ६ का वडाध्यक्ष धनेश्वर शर्माले सीप र दक्षता भएका स्थानीयलाई आयोजना निर्माणमा रोजगारी प्रदान गर्नुपर्ने बताउनुभयो । कार्यक्रमबाट निकै सकारात्मक सल्लाह सुझाव प्राप्त भएको कार्यक्रम सञ्चालक प्रकाश घिमिरेले बताउनुभयो । कार्यक्रममा विभिन्न राजनैतिक दल, शिक्षा, स्वास्थ्य र युवा पक्षबाट आ–आफ्नो सल्लाह सुझाव दिइएको थियो ।