वनमा लागेको आगो निभाउने क्रममा घाइते रुकुम पश्चिमको मुसिकोट नगरपालिका वडा नम्बर १ सल्लेकी मना थापाको उपचार भएको छ । आगोले शरीरका विभिन्न अङ्ग जलेर गम्भीर घाइते भएकी मनाको सहयोग सङ्कलन गरेर उपचार गरिएको हो । गत वैशाख २ गते सल्लेको बिन्जुरा खोला बनमा लागेको आगो निभाउने क्रममा उहाँका शरीरका विभिन्न अङ्ग पोलिएका थिए ।
त्यस पश्चात् जिल्ला अस्पताल सल्लेमा उपचारका लागि लगिएको थियो । त्यहाँ सामान्य उपचारपछि भेरी अस्पताल नेपालगन्ज रिफर गरिएको थियो । त्यहाँ पनि उपचार सम्भव नभएपछि कीर्तिपुर अस्पताल बर्न सेन्टर काठमाडौँ पठाइएको थियो । त्यहाँ १ महिना लामो उपचारपछि मनालाई डिस्चार्ज गरिएको छ । अवस्था सामान्य बन्दै गएपछि अस्पतालले डिस्चार्ज गरेकी मना अहिले घरमै आराम गरिरहनुभएको छ । सहयोग जुटाएर उहाँको उपचार गरिएको हो ।
आर्थिक अवस्था कमजोर भएपछि उहाँको उपचारका लागि सहयोगको याचना गरिएको थियो । देश तथा विदेशबाट उहाँको उपचारका लागि सहयोग सङ्कलन भएको थियो । उहाँको उपचारमा हालसम्म पाँच लाख ६३ हजार दुई सय ७५ रुपैयाँ सहयोग सङ्कलन भएको सहयोग सङ्कलनको नेतृत्व गर्नुभएका मध्ये एक उहाँका आफन्त डम्बर थापाले जानकारी दिनुभयो । उहाँका अनुसार मनाको उपचारका लागि हालसम्म ६ लाख ६७ हजार पाँच सय ४५ रुपैयाँ खर्च भएको छ । अब एक लाख ४ हजार दुई सय ७० रुपैयाँ ऋण रहेको थापाले बताउनुभयो ।