Kakhara सबैको खबर सम्पूर्ण खबर
प्रधानमन्त्री रोजगार कार्यक्रम: ६ हजार व्यक्ती सृचिकृत, एक सय १७ व्यक्तिले मात्र पाए रोजगारी
आठविसकोट नगरपालिकाको कार्यालय ।

रुकुम पश्चिमको आठबिसकोट नगरपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रमको लागि ६ हजार १ सय ४० बेरोजगार युवा सूचिकृत भएकामा एक सय १७ जना युवाले मात्रै रोजगारी प्राप्त गरेका छन् । गत आर्थिक वर्षमा प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि बेरोजगार सूचिमा परेका मध्ये १ सय १७ जनाले मात्रै रोजगारी पाएका हुन् । प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत नगर भित्रका ६ हजार १ सय ४० व्यक्ति सूचिकृत भएकामा विपन्न परिवार तथा वडाको प्राथमिकताको आधारमा छनोट भएका १ सय १७ जना व्यक्तिले एक सय दिन बराबरको रोजगारी प्राप्त गरेको आठविसकोट नगरपालिकाका रोजगार संयोजक कमल भट्टराईले जानकारी दिनुभयो ।

उहाँका अनुसार रोजगारीको लागि ३ हजार ५१ पुरुष र ३ हजार ८९ महिला गरेर ६ हजार १ सय ४० व्यक्ती सूचीकृत भएका थिए । कामका लागि पारिश्रमिक अनुदान र युवा रोजगारीका लागि रूपान्तरण योजना गरी दुई वटा योजनामा छनोट भएका युवाहरूले रोजगारी पाएका हुन् । पारिश्रमिक अनुदानमा ४७ लाख ४४ हजार रुपैयाँ र रूपान्तरण पहल योजनामा ३१ लाख ५७ हजार गरेर कुल ७९ लाख १ हजार बजेट खर्च भएको छ । जसमा २८ वटा योजनाहरू सम्पन्न भएको रोजगार संयोजक भट्टराईले जानकारी दिनुभयो ।

प्रधानमन्त्री रोजगार कार्यक्रमबाट आरसिसी बाटो, सडक छेउमा जाली भर्ने, घोरेटो बाटो निर्माण लगायतका काम भएका छन् । प्रधानमन्त्री रोजगार कार्यक्रममा काम गर्ने व्यक्तिले प्रतिदिन ६ सय ६८ रुपैयाँका दरले ज्याला प्राप्त गरेको नगरपालिकाले जनाएकाको छ ।

मुख्यमन्त्री रोजगार कार्यक्रम : दुई सय १९ व्यक्ती रोजगार   
मुख्यमन्त्री रोजगार कार्यक्रम अन्तर्गत भने २ सय १९ जना व्यक्तिले रोजगारी पाएका छन् । नरभित्र सञ्चालन भएका विभिन्न १४ वटा योजनाहरूबाट २ सय १९ बेरोजगार व्यक्तिले रोजगारी पाएका हुन् । नगरपालिकाको १४ वटै वडामा सञ्चालन भएका विभिन्न योजनामा औसतमा एक व्यक्तिले ५६ दिन बराबरको रोजगारी पाएको रोजगार संयोजक भट्टराईले जानकारी दिनुभयो ।

मुख्यमन्त्री रोजगार कार्यक्रम अन्तर्गत काम गर्ने कामदारले फरक फरक ज्याला पाएका छन् । दक्ष कामदारले प्रति दिन एक हजार ५० र अदक्ष कामदारले प्रति दिन ८ सय ७० रुपैयाँका दर ज्याला प्राप्त गरेका हुन । जस अन्तर्गत २ करोड १० लाख बजेट खर्च भएको छ ।

मुख्यमन्त्री रोजगार कार्यक्रम अन्तर्गत सिँचाइ कुलो निर्माण, खानेपानी, विद्यालय पूर्वाधार अन्तर्गत घेराबार, शौचालय निर्माण लगाएकाका काम भएको नगरपालिकाले जनाएको छ । प्रधानमन्त्री तथा मुख्यमन्त्री रोजगार कार्यक्रममा कामदारले काम गरे बापत सिधै व्यक्तिको खातामा रकम पठाउने गरिएको आठबिसकोट नगरपालिका रोजगार संयोजक भट्टराईले जानकारी दिनुभयो ।

प्रकाशित मिति: आइतबार, भदौ ९, २०८१  १४:३१
प्रतिक्रिया दिनुहोस्
Weather Update