Kakhara सबैको खबर सम्पूर्ण खबर
सुनदह पुग्दा 'स्वर्ग' पुगे झैँ भाे !

यात्रा निकै कठिन थियो,
तर त्यो भन्दा कयौँ गुना सुन्दर गन्तव्य थियो । 
त्यो सुन्दर गन्तव्यको नाम थियो सुनदह । 
आहा सुनदह नाम पनि आफैमा कति चोखो । 

साताव्यापी घुमाइको यात्रा यसरी सुरु हुन्छ,
सुनदह घुम्न जाने योजनापछि यस योजनामा जोडिन आउनुभएका सबै जना रुकुमकोटस्थित होटेल लेक सिटीमा २०८१ सालको साउन २९ गते साँझ नै जम्मा भइसकेका थियौ । ३० गते बिहानै होटेल लेक सिटीमा पुरी र तरकारीलाई खाजाको रूपमा ग्रहण गरिसकेपछि 

म स्वयम सर्जना कार्की सहित …… जनाको टोली जिप चढेर गन्तव्यतर्फ लाग्यौ । समूहमा सुनिल रोका, मिलन घर्ती मगर, हेमन्त राई, भिमसेन कल्याल ठकुरी, दिलचन पुन,  विकास पुन, रमिता पुन, करण खड्का, जुन घर्ती मगर, तिलक रोका, सागर मगर, रन्मा ३ का वडाध्यक्ष विजय पुन, निशा बुढा, सूरविन्द्र विक, आशिस पुन, विनिता बुढा मगर, निर्मला पुन, मिलन पुन, फागु घर्ती, जेन विष्ट, मिलुङ्ग मगर र अन्य भरिया ६ जना हुनुहुन्थ्यो । 

हामी सबैको अन्तिम गन्तव्य सुन दह भए पनि प्रत्येक दिनमा फरक फरक गन्तव्य हामी माझ थिए । पहिलो दिन रुकुमकोटबाट हिँडिसकेपछि बर्खाको समयमा उत्तरगंगा नदी गाडीले पार गर्न नसकेपछि उत्तरगंगा वारिपट्टि ओर्लिएर सामान बोकेर पारिपट्टि गएर अर्को गाडी चढेका थियौ । त्यसपछि हामी तकमा गएर खाना खायौ । खानापछि सुरु भएको हाम्रो यात्रामा हाँसो, खुसी, डर, दुख सबै कुराहरू मिसिएको थियो । 

किनभने बर्खाको बाटो कतै पहिरो झरेको, कतै बाटो साँघुरो, कतै भिर त कतै खोलै तर्न मुस्किल । यी सबै कुराले कति बेला त लाग्थ्यो सुनदह नपुग्दै ........। फेरी अर्को मन भन्थ्यो जन्म र मृत्यु भनेको भावीले लेखेको हुन्छ रे, जुन दिनसम्मको लेखेको छ........ । यती कुराहरू मनमा खेल्दाखेल्दै आँखै अगाडी निकै सुन्दर र निश्चल झरनाहरू देखिन्छन् । सुन्दर बस्तीहरू देखिन्छन् । हरियाली डाँडाकाँडा र रनबन देखिन्छ । फेरी प्रकृति प्रेमी मन यसैमा भुलिदिन्छ । 

Sarjana-&-Group-1724644252.jpg
मनमा नाना थरी कुराहरू खेलाउँदै र गाडीको झ्यालबाट कर्के नजरले प्रकृतिको सुन्दरतालाई लुट्दै हाम्रो गाडीको यात्रा मयाङमा सकिन्छ । किनकि त्यसभन्दा उता खोलाले बाटोको नामोनिसान केही छोडेको थिएन । अनि हामी सबै जना आ-आफ्नो सामान बोकेर अगाडी बढ्यौ । यात्रामा चाहिने गाँस, बासका सामानहरू भने भरियाले बोक्नुभयो । समय घर्किँदै थियो । रम्नाबाट फोन आइरहेको थियो हजुरहरूलाई स्वागत गर्न तयार भएर बसेको धेरै समय भइसक्यो, जति सक्यो छिटो आउनुस् । यहीअनुसार हामीले पनि गर देखी रम्नाको उकालोमा सकिनसकि आफ्नो रफ्तारलाई अगाडी बढाइरहेका थियौ । अन्ततः हामी साँझको झिसमिसेमा रन्मा पुग्यौ । सबैको मुहारमा थकान प्रस्टसँग देख्न सकिन्थ्यो । 

जब त्यहाँ पुग्यौ, हामीले नसोचेको स्वागत पायौ । रम्नाका वडाध्यक्ष विजय मगर सहित गाउँका मानिसहरू गाउँभन्दा वर आएर फूलमाला हातमा लिई मगर ड्रेसमा सजिएर बसिरहनुभएको थियो । दुलही भित्र्याउने बेलाको जस्तो गेट बनाइएको थियो । पञ्चेबाजा बजिरहेको थियो । सुनदह यात्रामा निस्किएका हामी सबै जनालाई त्यहाँ तिलको टिका, फुलको माला लगाइदिनुभयो । टाउकामा सेतो फेटा बाँधिदिएर कानमा फूल र दुवो पनि सिउरिदिनुभयो । अहो स्वागत भव्य थियो । त्यो स्वगतले बाटोमा खोला तर्दा, उकालो चढ्दाको थकानलाई एकैछिनमा विलिन बनाइदियो । यती बेला मलाई मनमनै लागेको थियो, हामी त जन्ती नै हो । बस यहाँ दुलहा र दुलहीको कमी छ । फेरी पञ्चेबाजा घन्कँदै थियो । हामीले आफूहरूलाई रोक्नै सकेनौ । त्यही बाजाको तालमा छमछमी नाच्यौँ । 

Wellcome_Ranma-1724644400.jpg
त्यसपछि हामी रन्मा गाउँमा पुग्यौ । त्यहाँ पुगेर पनि हामी फेरी रन्मालीहरुसँगै पञ्चेबाजाको तालमा फन्को मारेर नाच्यौँ । एक रात त्यही बितायौ । दोस्रो दिन अर्थात् ३१ गतेको दिन बिहानै उठेर चियाको चुस्किसँगै घरको छतबाट देखिने जति गाउँ र डाँडाकाँडा सबै नियाल्यौ । फेरी यत्तिकैमा रन्माली जस्तो बन्न मन लागेर एकैछिन त्यहाँका आमा र बहिनीहरूसँग मगर पोसाक मागेर लगाई फोटो खिच्यौ । अनि खाजा खाएर बिहानको ९ बजे दोस्रो दिनको यात्रा सुरु गर्‍यौ । दोस्रो दिनको यात्रा पहिलो दिनको भन्दा झन् कठिन थियो । रन्मा गाउँबाट सुरु भएको उकालो, जुकासँगको लुछातानीकै बिचबाट हामी पेपे भन्ने ठाउँमा अपराह्नको ४ बजे पुग्यौ । भोक र थकाइले लखतरान अवस्थामा रहेका हामी त्यही एउटा गोठ रहेछ । एक छिन थकाइ मार्दै खाना पकाएर खायौ । यती गर्दै गर्दा बर्खे झरी सुरु भइसकेको थियो । खाना खाएर झरीकै बिचमा यात्रा पुन; सुरु गर्‍यौ । हामी फोस्रा भन्ने ठाउँमा गएर बास बस्यौ ।

फोस्रामा पनि गोठको बसाई आरामदायी नै थियो । सबै साथीहरू यात्राका अनुभव साटासाट गर्दै आधा रात बिताएपछि सबै जना सुत्यौ । सुनदह यात्राको तेस्रो दिन अर्थात् साउन ३२ गतेको दिन बिहान सबै जना उठ्यौ । खाजाको रूपमा उसिनेको आलु थियो । लसुन र टिम्मुरसहितको नुन र आलु खाएर फेरी हामी यात्रामा अघि बढ्यौ । बराजासगौमा पुगेर खाना खायौ । त्यसपछि अघि बढेका हामी यो समयसम्ममा कतिपयलाई हिँड्न गाह्रो भइसकेको थियो । जति पाइला अघि बढ्थ्यो उति हामी उचाइमा पुग्थ्यौ । यस कारण पनि कतिपय साथीहरूलाई लेक लाग्न सक्ने डर थियो । उसो त यात्राको क्रममा बागलुङे रमिता पुन र रुकुमेली बिनिता बुढामगरको आँसु झरिसकेको थियो । ती दुई जनालाई सम्हाल्न भिमसेन कल्याल ठकुरी र करण खड्कालाई हम्यहम्य परिरहेको थियो । 

Yatra-1724644252.jpg
त्यतिबेला हिँडाइको पिडाले झरेका साथीहरूका आँसुहरूलाई अहिले याद बनाएर मैले भनिरहँदा त्यो पलहरू आँखै अगाडी ताजा भएर आइदिन्छ । निरन्तरको हिँडाई, गह्रुङ्गो झोला, पैतलामा फोका, जुकाको टोकाई अनि साथीहरूको रुवाई । यो देखेर साँच्चिकै मलाई नि रुन मन लागेको थियो । समूहका अरू साथीहरूले रुने साथीहरूलाई सम्हाल्दा मैले पनि मनलाई सम्हालेर पाइलाहरू अगाडी बढाए । अन्ततः झरी र कुहिरोको बिचबाट रातीको ९ बजेतिर गन्तव्यमा पुगियो । केही साथीहरू हामी भन्दा अगाडी पुगिसक्नुभएको थियो भने केही साथीहरू हामीभन्दा पछि पुग्नुभएको थियो । त्यहाँ पुगेपछि थकानले आराम भन्दा अरू केही चाहेकै थिएन । साथीहरूले पकाएको खाना खाएपछि केही साथीहरू टेन्टमा सुत्नुभयो । केही साथी ओडारमा सुत्यौ । त्यो ओडार सुनदहको लागि फाइभ स्टार भन्दा कमको थिएन । 

यात्राको चौथो दिन अर्थात् भदौको १ गते । हामी ४ हजार ४ सय ३५ मिटरको उचाइमा थियौ । जब बिहान भयो, उठेर ओडारबाट बाहिर निस्किदा छुट्टै संसारमा पुगेजस्तो लाग्यो । पाटनभरि फूलेका रंगिबिरंगी फूलहरूले मुसुक्क मुस्कुराउँदै सुगन्धित भएर स्वागत गरेझैँ लाग्यो । बादलुले गमक्क पारेर घुम्टो ओढाए झैँ लाग्यो । अनि कुहिरोले सुनदहको काखमा सँगै लुकामारी खेलौँ भने झैँ लाग्यो । सुनदहले अँजुलीमा उठाएर तिम्रा ओठले मलाई चुम भनेझैँ लाग्यो । खोलाहरूले आऊ मसँगै बगिदेऊ भनेझैँ लाग्यो । अनि खागरहरुले आऊ मेरै आडमा बसेर नतमस्तक भई यो सुन्दर दृश्यलाई नियाल भनेझैँ लाग्यो । अनि म आफैलाई लाग्यो अहो प्रकृतिको भाषा कति सजिलै बुझ्ने भइसकेछु । म मक्ख परे । 

Sundaha-1724644255.jpg
बिहानीको समयमा सबै जनाले दहको छेउमै रहेको जालकीमा गएर पूजा गर्नुभयो । पूजापाठ पश्चात् एउटा साँढा काटियो । एउटा टोली खाना पकाउनतिर व्यस्त भयो । म लगायत केही साथीहरू भने राक्से दहको यात्रामा निस्कियौ ।  ४४ सय मिटरको उचाइलाई पनि छिचोलेर ४७ सय मिटरको उचाइमा हानिँदै गर्दा सुन दहको अनेक रूप देख्न पाइयो । एक छेउबाट एउटा रूप देखिने यस दहको हरेक कुनामा जाँदा अर्कै रूप देख्न सकिन्थ्यो । सुनदहको अनौठो रूपलाई नियाल्दै र साथीहरू गफिँदै खागरको बाटोको यात्रा गरेर राक्से दह पुग्यौ । 

राक्से दहको नाम जस्तै रूप पनि अलि डरलाग्दो नै लाग्यो मलाई । सुनदहको निश्चल र निलो पानी देखेको म राक्से दहको कालो रूप देख्दा सबै झसङ्ग भयौ । तर पनि मैले त एक अँजुली पानी लिएर तिर्खा मेटाइदिए । राक्से र राक्से वरिपरिको दृश्यलाई नियाल्दै सुन दहको शिरमा बुर्कुसी मार्दै असिनाको चुटाई खादै र हजारौँको सङ्ख्यामा रहेको भेडी बथानलाई हेर्दै दिउसोको २ बजे मात्र हामी सुनदहको आाँगनीमा फर्कियौ । प्रकृतिको त्यो सुन्दरताले भोकलाई समेत पछारेछ । 

तर त्यस बेलासम्म हाम्रा केही साथीहरूलाई लेक लागिसकेछ । कोही सुत्नुभएको थियो त कोही तलतिर झर्ने तरखरमा हुनुहुन्थ्यो । हामीले खाना खायौ । त्यसपछि लेक लागेर समस्या भएका सागर मगर र उहाँलाई साथ दिन तल झर्न लाग्नुभएका तिलक रोकामगरलाई मन अमिलो बनाउँदै बिदाईका हात हल्लायौँ । उसो त सुनिल रोका दाइलाई पनि एक छिन गाह्रो बनाएको थियो । तर उहाँले त्यो गाह्रो परिस्थितिको सामना गरिसक्नुभएको थियो । 

Vedi-Goth-1724644254.jpg
एक छिन सुनदहको आडैमा सामूहिक फोटो खिचेर म एक जना साथी(मिलन मगर) लाई लिएर लादने दहतिर हानिए । त्यहाँ पुग्दा लादने दहको स्वरूप देखेर म दङ्ग परे । दहको स्वरूप ठ्याक्कै मोटो आन्द्राको जस्तो थियो । लादने दहको शिरमै एक घण्टा त यसै बिताइदिए । सुनदहबाट बगेर आएको पानीको एउटा लहरा, लादने दहबाट आएको एउटा लहरा र खागरबाट आएको अर्को लहराले त्यो पाटनमा सुन्दर चित्र कोरेका थिए । प्रकृति हाम्रो आगमनले खुलेरै हासेको थियो । फेरी के चित्त बुझ्थेन कुन्नि कुहिरोलाई एकैछिनमा  ठुसुक्क भएर सुनदह, राक्से र लादने सहित खागरहरुलाई छोपिदिन्थ्यो । म पनि के कम कुरेरै बस्थे कतिसम्म छोपेर बस्न सक्छ । कुहिरोको भन्दा मेरो धैर्यता बलियो हुन पुग्थ्यो यहाँनेर । 

सुनदह पुग्दा सुनदहको बारेमा छुट्टै किस्साहरु सुन्ने अवसर पनि मिल्यो 
सुनदह लुम्बिनी प्रदेश  पश्चिम धौलागिरीको सबैभन्दा उच्च स्थानमा रहेको ठुलो दह हो । खागरहरुको बिच तथा सुन्दर पाटनको एक छेउमा रहेको यस दहको आकार थाली जस्तो देखिन्छ । दहको एक छेउबाट पानी बगेर गएको छ । दहको आकार चारपाटे भएको भएत बगेको लहराले दहलाई उडेको चंगाजस्तै बनाउने थियो । 
दहबाट बगेको पानी माथी हिड्नको लागि तटबन्ध गरेर बाटो बनाइएको छ । तटबन्धकै मध्यभागमै जालकी निर्माण गरिएको छ । स्थानीयका अनुसार यो एक प्रकारको देवल हो । यस भेगको सांस्कृतिक चिनो हो । यसलाई भकारी र पन्थ्यौलीको नामले पनि चिनिदो रहेछ । कसैले जालाकी भन्दा रहेछन् भने भने कसैले छोर्तेन पनि भन्दा रहेछन् । अनि कसैले देउराली पनि । जालकी भएर आवतजावत गर्ने यात्रुहरू दहमा बास गरेका भनिएका बराह देवताको नाममा भेटीसहित लेकाली फूल टिपेर चढाउँछन् । रातो र सेतो रङको धजा बाँध्छन्, धूपको रूपमा धूपीको पात बाल्छन् । अनि अक्षता छर्छन् । चाहेको मनोकामना माग्छन् । यस सुन दहमा खाली खुट्टा हात जोडे तिन फन्को लगाएमा मनोकामना पुरा हुने विश्वास रहिआएको छ । यस दहलाई एक फन्को लगाउन एक घण्टा लाग्ने गर्दछ । 
 
‘सुनदह’ नाम कसरी रहन गएको भन्नेबारे रन्मालीहरू पनि धेरथोर जानकार छन् । ती कहावत बडा रोचक छन् ।
एक-डोल्पा जिल्लाको थरगाउँमा उहिल्यै यो सुन्दह रहेको थियो । गाउँलेहरू यस दहबाट बग्ने खोलाको पानी भरेर खान्थे । अझ हिउँद याममा गाउँलेहरू यस दहको खोलाको पानी नभई दैनिकी चल्दैनथ्यो । झिसमिसेमै सबैभन्‍दा पहिले उठेर पानी भर्न जानेले खोलाको किनारामा जमेको सुनको बरफ छिनालेर घर लैजाने सौभाग्य पाउँथे । सबैलाई कुनै न कुनै दिन यस्‍तो अवसर जुर्थ्‍यो । त्‍यसैले गाउँलेहरू सुखी र खुसीले जिउँथे । यसरी दिनहरू बित्दै थिए । एकदिन सोही गाउँमै बस्ने एक एकल महिलाले गाउँका अरूभन्दा अघि पानी भर्ने सौभाग्य पाइन् । उनले पनि अरू सरह नै सुन छिनाएर घर ल्याइन् । 

यति सजिलै सुन छिनाल्न पाइने लोभले ती महिलालाई रातभरि निद्रा लागेन । फेरि अघिल्लो दिनभन्दा सबेरै पानी भर्न गइछन् । फेरि सुनको बरफ छिनालेर घर ल्याउन भ्याइछन् । किन हो कुन्‍नि त्‍यसै दिनको रातिदेखि नै दह गुमनाम भएछ ।  अघिल्लो दिनसम्‍म दहले भरिएको ठाउँ भोलिपल्ट बिहान अचानक खाली जमिनमा परिणत भएको देखेपछि गाउँका सबै आश्‍चर्यमा परेछन् । गाउँलेहरू अचम्भमत हुँदै एक ठाउँ खेरिएछन् । तीमध्येका एक बुज्रुकले राति सपनामा दहले जोगीको भेषधारण गरी अघिल्लो दिन घटेको घटना आफूलाई सुनाएर पूर्वतर्फको बुकी कट्दैछु भनी आफूलाई सुनाएको खबर गाउँलेहरूलाई सुनाएछन् ।  

Bulaki-1724644249.jpg
गाउँलेहरू आपसमा सरसल्लाह गरी दहको खोजी गर्दै लेकतर्फ उक्लिँदा अहिलेको सुन्दहको स्थानमा सोही दह भेटेछन् । लोभी, पापी, दुष्चक्रीबाट उन्मुक्ति पाउन पुरानो ठाउँ नदेखिने स्थानमा बसाइ सरेको भन्ने लोककहावत छ । भनिन्छ- ती महिला दुष्चरित्रकी थिइन् रे । त्यहीबेलादेखि नै अहिलेसम्म डोल्पाको माझफाल, ताली, दुरगाउँ, थरगाउँ, थाला, लोचा, हूँ, लहरा, सहरतारा, दुनै, त्रिपुराकोट, गुम्‍बा गाउँ लगायतका बासिन्दा भदौरे पूर्णिमाको तिथि पारेर सुन्दहमा स्नान गर्न आउँछन् । निकै जतनका साथ सुन्दहको पानी भरेर घरतिर लान्छन् । जनैपूर्णिमाको दिन घरमा सुन्दहको नाममा भेँडाको साँडलाई सुन्दहको चोखो पानीले नै पुर्खिन्छन् । त्यसपछि साँडलाई बलि दिइन्छ । 

परिवार र जम्मा भएका इष्‍टकुटुम्ब सबैले पालैपालो सुन्दहको पानी पिउँदछन् । यसपछि उनीहरू आफूलाई स्वस्थ र पापबाट पखालिएको महसुस गर्दछन् । सुन्दह धार्मिक दृष्‍टिले रूकुम पूर्वेलीभन्दा डोल्पालीका निम्ति आस्थाको कुण्डको रूपमा यसकारण बढी महत्वको मानिन्छ । 
 
दुई-उहिल्यै वर्षायाममा अहिलेको दहनजिकै अवस्थित भेडीगोठमा बाँधेर राखिएको भोटे कुकुर अचानक साङ्लो फुक्लिएर दहछेउ पुगेछन् । साङ्लोको केही भाग दहमा डुबेछ । पानीमा डुबेको भाग सुनमा बदलिएछ । गोठालोले त्यस्तो देखेपछि दहनिर गएछन् । आफूले कम्मरमा भिरेको डापबाट खुकुरी झिकेर दहमै डुबाएछन् । खुकुरी पनि सुनमा बदलिएछ । यो थाहा पाएपछि अन्यत्रका थुप्रै मान्‍छेले पनि यसरी नै फलामका भाँडाकुँडा दहमा चोबल्दै सुनमा बदलेछन् । एक कान दुई कान मैदान हुँदै सबैतिर खबर फैलिएछ । सुन्दहमा आइपुग्नेहरू सबैले आफ्ना भएभरका फलाम तथा अन्य धातुका भाँडावर्तन सबै पानीमै डुबाएछन् । ती भाँडाकुँडा पनि सुनमै बदलिएछन् । अरूभन्दा अझ धनी बन्ने लोभले हुलमा आएका एक जना सार्कीले घुँडाघुँडासम्म लगाइएको ज्यो अर्थात् तोचा भनिने त्यसबेलाको जुत्ता लगाएरै दहमा डुबाएछन् । फोहोर ज्योसहितको गन्हाउने गोडा दहमा डुबाएछन् । यस्‍तो चोखो दहलाई दुर्गन्‍धित पारेकाले दह रिसाएछन् । त्यहीबेलादेखि दहमा डुबाइएका भाँडावर्तन सुनमा बदलिन छाडेछ ।

तीन – अहिलेको रूकुम पूर्व, रोल्पा, बाग्लुङ अन्तर्गत पर्ने सातगाउँ खोला र चारहजार पर्वतका केही बासिन्दाहरू ढाकरेको रूपमा वसन्‍त याममा उत्तरी भोटतर्फ नुन बोक्न गएछन् । नुन लिएर घर फर्किंदा अहिलेको यस सुन्‍दहनिर भान्छा बनाउन बसेछन् । खाना पकाउन दहमा पानी भर्न गएछन् । पानी भर्दै गरेको अवस्थामा दहमा डुबाइएको भाँडा नै सुनमा बदलिएछ । सबै दंग हुँदै रमाएछन्‌ । भाँडो नै सुनमा बदलिएको लोभले भएभरका सबैले आफूसँग भएका सबै भाँडावर्तन दहमा डुबाएर सुनमा बदलेछन् । धनी हुने लोभले एकजना दहमै हामफालेछन् । यसरी हामफालेको व्यक्ति पनि सुनमा बदलिएछन् । तर ती जीवित नरही मुर्दा ठहरिएकाले बाँकी अरू सब डरले अत्तालिएर रित्तै घर फर्किएछन् । 

Sarjana-1724644251.jpg
समुद्री सतहदेखि ४ हजार ४ सय ३५ मिटर उचाइमा अवस्थित सुन्‍दह २८ डिग्री ४८ मिनेट ४४ दशमलव ६ सेकेन्ड उत्तरी अक्षांश र ८२ डिग्री ५० मिनेट ४१ दशमलव ६ सेकेन्ड पूर्वी देशान्तरमा रहेको छ । दहको मापन वि.सं. २०४५ साल असोज ६ गते तत्कालीन ढोरपाटन शिकार आरक्षका संरक्षण अधिकृत लालविहारी यादवको नेतृत्वमा जम्मा ६ जनाको टोलीद्वारा गरिएको थियो । त्यस टोलीमध्‍येका एक सदस्‍य छिमेकी गाउँ मैकोटका रामप्रसाद पुनका अनुसार दहको नाप लिँदा एउटा लामो डोरोको प्रयोग गरिएको थियो। त्‍यसबेला ढोरपाटन शिकार आरक्षको गेमस्‍काउट रहेका पुनका अनुसार सम्‍भवत: सुन्‍दहको पहिलो प्राविधिक अध्‍ययन नै यसलाई मान्‍नुपर्छ । 
 
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग, वन विभाग, वनस्‍पति विभाग, विश्‍व वन्यजन्तु कोष, ढोरपाटन शिकार आरक्ष लगायतका निकाय मातहत गरिएका विभिन्न अध्ययन एवं अनुसन्धान अनुसार सुन्दहले १० दशमलव ८० हेक्टर जमिन ओगटेको छ । जस अनुसार सुन्दहको क्षेत्रफल १ लाख ७२ हजार ९ सय ९६ दशमलव ८४ वर्गमिटर रहेको छ । यसको गहिराइ कति छ भन्ने तथ्‍य यकिन गरिएको छैन । 
 
सुन्दहको पूर्वमा सुम्लाकोइको चट्टानी भीर, धनताँवो र सुनछहरा, पश्‍चिममा राक्से खागर, उत्तरमा चट्टानी पहाडसहितको काले खागर र दक्षिणमा बन्यापा र मतिँचै बुकी पर्दछन् ।
राक्से खागर डोल्पा र रुकुमपूर्व जिल्ला अर्थात् कर्णाली र लुम्बिनी प्रदेशको सीमाक्षेत्र हो । 
 
राक्से दह 
राक्से खागरमा राक्से नामको दह रहेको छ । रक्च्यास्न्या नामबाट राक्से दहको नाम रहन गएको भनिन्छ । रक्च्यास्न्या भन्ने शब्द खाम भाषाको शब्द हो । यसको अर्थ दौडिने भन्ने हुन्छ । यस्तो सुनसान ठाउँमा यो दहले बेलाबेलामा क्यार क्यार गर्ने आवाज निकाल्ने हुँदा दह दौडियो भनेर राक्से दह नाम राखिएको भन्ने कथन छ । ४ हजार ७ सय १५ मिटर उचाइमा अवस्थित राक्से दहको क्षेत्रफल १४ हजार ३ सय २४ वर्गमिटर रहेको छ । राक्से दह सम्भवत: लुम्बिनी प्रदेशमै सर्वाधिक उचाइमा रहेको दह हो भनी स्‍थानीयले दाबी गर्दै आएका छन्‌ । 

RAkse-daha-1724644251.jpgलादने दह 
सुनदहको ठ्याक्कै पूर्वतिर लादने दह पर्दछ । यो दह लादन जस्तो भएको कारण लादने भनिएको हो । खच्चडलाई दुवैतर्फ बराबर गरेर भारी बोकाइन्छ । जसलाई खाम  भाषामा लादन भनिन्छ । दहको आकार पनि बिचमा समिनो र दुवैतर्फको छेउतिरको भाग अली फुको जस्तो देखिन्छ । यसकारण यो दहलाई लादन दह भनिएको हो । यो दह झट्ट हेर्दा मोटो आन्द्राको जस्तो आकारमा पनि देखिन्छ । 
 
मंसिरको सुरूआतदेखि वैशाखको अन्तिमसम्म सुन्दह पूर्ण रूपमा बरफ भएर जम्छ । 
 
सुनदह सेरोफेरोमा यार्सागुम्बा, चरीविख, धूपजरी, कुट्की, पदमचाल, पाँचऔंले, सुनगाभा, जटामसी, निरमसी, भुत्ले,  मोहरामुल लगायत विविध प्रजातिका जडिबुटी तथा वनस्पति पाइन्छन् । डाँफे, मुनाल, चीर, जलेवा, फक्राँस, लरुवा, फाप्रे जस्ता पंक्षी तथा रेडपाण्डा, हिमचितुवा, नाउर, ब्वाँसो, हिमाली कालो भालु, कस्तूरी, झारल लगायतका हिमाली जीवजन्तु पाइन्छन् ।
 
दहकै नामबाट  ढोरपाटन शिकार आरक्ष अन्तर्गतका ७ वटा शिकार ब्लकमध्ये पश्‍चिमी ब्लकलाई सुन्दह नामकरण गरिएको हो । विदेशी शिकारीहरूका अनुसार सुन्दह नेपालमा सर्वाधिक रुचाइएको शिकार ब्लक मध्येमै पर्छ । यो पूर्णत: लेकाली पाटन हो । भेडाचरनको उपयुक्त स्थल हो । त्यसैले यहाँ जेठदेखि भदौसम्म गरी पूरापूर चार महिना भेडीखर्क बसाइन्छ । घोडाखच्चड र चौंरीपालनको लागि पनि अति उपयुक्त पाटन पनि हो । घुमफिरका लागि सुन्‍दह आउजाउ गर्दा बास बसिने गाईगोठ र भेडीखर्कका गोठालासँगको उठबस त जीवनको सबैभन्‍दा सरल र सहज लाग्‍छ । 
 
अहिले सुनदह जाने रुट भनेको रुकुमकोट-तकसेरा- मयाङ-गर-रन्मा-साप्से-मलैपो-पेपे-फोस्रा-कोनाबन काठेपूल-बराजस-चिरपुक-धन्ताबो-सुनदह हो । यो रुटमा अधा दिन गाडीमा र साढे २ दिन पैदल गरी ३ दिनको यात्रामा सुनदह पुग्न सकिन्छ । साढे २ दिनमा रुकुमकोट फर्कन सकिन्छ । अहिले सुनदहको लागि छोटो रुट(पदमार्ग) निर्माणको काम भइरहेको वडाध्यक्ष बिजय बुढा मगरले बताउनुभएको छ । यो नयाँ पदमार्ग निर्माणको काम सकियो भने सुनदहको यात्रा छोटिने उहाँको भनाई छ । 

Group-1724644248.jpg
सुन दहमा एक दिन पुरा र दुई रात बिताएपछि घर फर्कनुपर्ने भयो । जती घर फर्कने समय आउदै थियो उती मन भारी हुँदै गइहरेको थियो । मलाई यो प्रकृतीक सौन्दर्यतादेखी टाढा हुनै मन थिएन् । तर पनि नफर्कि सुखै थिएन् । भदौको २ गते बिहान उठेर मन भारी बनाउदै सुन दहको चारैतिर नजर डुलाए । सबैजना साथीहरु तयार भयौ । सुनदह र पेरीफेरीको दृश्यलाई मनभरी बाधेर जलाकीको अगाडी उभिएर यो ठाउँमा फेरीपनि कूनै न कूनै समय पुग्ने बाँचा गर्दै फर्कियौ । सुनदहबाट घरतिर पाइला मोड्दै गर्दा मन भने सुन दह र सुन दहका शिरमै रहेका शिला खागरहरुसँगै अडिएको थियो । म फर्कदा मेरो मन मसँगै फर्किएन् । सुनदह सेरोफेरोमा मोहित भएको आधा मनालाई उतै छोडे । आधा मन लिएर म रुकुमकोट फर्किए । 

घर फर्कदा फेरी बाटो त उहि थियो, उकालो/ओरालो अनी जुकासँगको लडाई । बिहान सुनदहबाट हिडेको हामी बराजासगौमा खाना खाएर फोस्रामा बास बस्न पुग्यौ । ३ गते बिहान फोस्राबाट अघि बढेका हामी दिउसो रन्मामा पुगेर खाना खायौ र बास बस्न हामी तकसेरामा पुग्यौ । साउनको ४ गतेमात्र हामी रुकुमकोटमा पुगेर सबैजना आ-आफ्नो घरतिर लागेका थियौ । यो एक साताको यात्रामा मेरो लागि कतिपय चिरपरिचित अनुहार नै थिए त कोही बिल्कुल नयाँ अनुहार थिए । यी यात्राका सबै साथीहरु मेरा मुटुका दाँया बाँया भइसकेका थिए । यात्राको अन्तिम दिनमा सबैजनालाई मन भारी बनाउदै बिदाईको हात हल्लाएको थिए । 

456334596_1509160303035092_4938397430213914007_n-1724644253.jpg
सुनदह यात्रामा निस्किएका हामी जो जहाँ भएपनि सबैको मन सुनदहमा अल्झिएको छ । साच्चिकै सुनदह नामजस्तै सुन्दर र निश्चल छ । अहिलेसम्म गुमनाम अवस्थामा रहेको यस सुनदहलाई सबैको सामु ल्याउन आवश्यक छ । हामीलाई प्रकृतिले नै दिएको यस्ता खालका सुन्दर उपहारलाई माया गर्न सकेनौ तथा प्रचारप्रसार र संरक्षण गर्न सकेनौ भने हामीलाई सराप लाग्ने छ । सुनदहलाई हाम्रै सुन्दर र अमुल्य ससम्पती सम्झेर पहिलो पटक होटेल लेकसिटीको व्यवस्थापनमा यो ठाउँमा पुगेर फर्कियौ । सुनदह यात्रामा जोडिनुभएका रुकुम पूर्वसहित बागलुङ, रोल्पा र डोटीका सबै प्रिय मनहरुलाई धेरैधेरै माया अनी धन्यवाद ।  

लेखक कार्की पत्रकार हुनुहुन्छ । उहाँ रुकुम पूर्वबाट लामाे समय देखि पत्रकारिता गरिरहनुभएकाे छ । 

प्रकाशित मिति: सोमबार, भदौ १०, २०८१  ०९:४५
प्रतिक्रिया दिनुहोस्
Weather Update