Kakhara सबैको खबर सम्पूर्ण खबर
सेरीगाउँमा स्केट हाउस सञ्चालन 
रुकुम स्केट पार्ककाे उद्घाटन गर्दै मुसिकाेट नगरपालिकाका प्रमुख महेन्द्र केसी र

रुकुम पश्चिमको मुसिकोट नगरपालिका ५ शेरिगाउँमा रुकुम स्केट हाउस सञ्चालनमा आएको छ । आज एक कार्यक्रमका बिच मुसिकोट नगरपालिकाका प्रमुख महेन्द्र केसीले रिबन काटेर हाउसको उद्घाटन गर्नुभएको हो । रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका वडा नम्बर ९ चौताराका डम्बर सुनार र विजय डाँगीले हाउस सञ्चालनमा ल्याउनुभएको हो । 

करिब २५–३० लाखको लगानीमा हाउस सञ्चालन गरिएको सञ्चालक मध्येका एक विजय डाँगीले जानकारी दिनुभयो । युवाहरूलाई शारीरिक रूपमा तन्दुरुस्त बनाउने उद्देश्य राखिएको उहाँले बताउनुभयो । साथै खेल भावनाको विकास गरी खेलकुद प्रवर्द्धनमा टेवा पुर्‍याउने र पर्यटन प्रवर्द्धन गर्ने समेत लक्ष राखिएको डाँगीले बताउनुभयो । 

अन्य ठाउँमा स्केटको राम्रो बजार रहे पनि रुकुम पश्चिममा भने यसको विकास हुन बाँकी रहेको छ । धेरैले यो नयाँ लागेको र अब बिस्तारै यसप्रति युवाहरूको आकर्षण बढ्ने विश्वास अर्का सञ्चालक डम्बर सुनारले व्यक्त गर्नुभयो । व्यवसाय सँगसँगै आन्तरिक तथा बाह्य पर्यटन प्रवर्द्धनमा समेत यसले टेवा पुग्ने उहाँको भनाई छ । 

20240826_114814-1724656940.jpg
स्केट हाउसको उद्घाटन गर्दै मुसिकोट नगर प्रमुख महेन्द्र केसीले जिल्लामा नयाँ नयाँ गतिविधिको सुरुवात हुनु सकारात्मक रहेको बताउनुभयो । जिल्लाका युवा तथा सबै उमेर समूहका मानिसहरूले जिल्लामै स्केट गर्न पाउनु राम्रो कुरा भएको उहाँको भनाई थियो । साथै उहाँले सुरक्षामा विशेष ध्यान दिन सुझाव दिनुभएको छ । 

यो सँगै जिल्लामा औपचारिक रूपमा पहिलो पटक स्केट हाउस सञ्चालनमा आएको छ । मुसिकोट १ मठमा पनि स्केट पार्क निर्माण भएको छ । तर औपचारिक रूपमा सञ्चालनमा आउन भने बाँकी रहेको छ । यही टिमले दाङको तुलसीपुर घोराही रोडमा समेत स्केट पार्क सञ्चालन गरिरहेको छ भने अब प्युठानमा पनि पार्क सञ्चालन गर्दै छ ।

सञ्चालक विजय डाँगीको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा मुसिकोट नगर प्रमुख केसीको प्रमुख र मुसिकोट नगरपालिका वडा नम्बर ५ का वडाध्यक्ष समीरजङ्ग मल्लको विशेष आतिथ्यता रहेको थियो । त्यस्तै कार्यक्रममा नगर प्रहरी प्रमुख उमेश केसी, पत्रकार महेश केसी, मनिष खड्का लगायतको पनि आतिथ्यता रहेको थियो । कार्यक्रमको सञ्चालन हरि सुनारले गर्नुभएको थियो ।   

20240826_114953-1724656935.jpg

प्रकाशित मिति: सोमबार, भदौ १०, २०८१  १३:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update