रुकुम पश्चिमको मुसिकोट नगरपालिका वडा नम्बर २ का १७ जनालाई खुर्सानीको अचार बनाउने तालिम प्रदान गरिएको छ । खुर्सानी खेतीमा आकर्षित गर्ने र ताजा खुर्सानीले बजार नपाएमा अचार बनाएर बिक्री गर्नका लागि १० जना पुरुष र ७ जना महिलाहरूलाई तालिम प्रदान गरिएको हो ।
वडामा रहेको ग्रामीण विकास बहुउद्देश्यीय सहकारी संस्थाले एक दिने तालिमको आयोजना गरेको हो । वडामा बाँदरले मकै बालीमा क्षति गर्न थालेपछि मकै खेती हुने बारी बाँझा हुन थालेका छन् । मकैको विकल्पमा खुर्सानी खेती तर्फ कृषकलाई आकर्षित गर्ने उद्देश्यले तालिमको आयोजना गरिएको सहकारीका व्यवस्थापक रमेश खड्काले जानकारी दिनुभयो ।
उहाँका अनुसार वडामा बाँदरका कारण करिब ३० प्रतिशत मकै खेती हुने जमिन बाँझै छ । बाँदर आतङ्कका कारण कृषकले मकै लगाउनै छाडेका छन् भने खेती गरेकाहरूले पनि क्षति बेहोरिहरेको उहाँको भनाई छ । अब मकैको विकल्पमा खुर्सानी तथा पिँडालु लगायतका खेतीमा जोड दिने सहकारीको योजना रहेको उहाँले बताउनुभयो
सहकारीले समेत करिब ३ रोपनी बाँझो जमिनमा खुर्सानी खेती गरेको छ । कृषकहरू समेत यसतर्फ आकर्षित भएका छन् । कृषकलाई आत्मनिर्भर बनाउनका लागि सहकारीले विभिन्न विकल्प बारे सोचिरहेको व्यवस्थापक खड्काले बताउनुभयो ।
तालिम आइतबार सहकारी भवनमा सञ्चालन भएको थियो । सहभागीहरूलाई टीका ओली खड्काले प्रशिक्षण दिनुभएको थियो । सहभागीहरुले खुर्सानी घरबाटै ल्याएका थिए भने अन्य प्राविधिक सहयाेग सहकारीले गरेकाे थियाे ।