जिल्ला समन्वय समिति रुकुम पश्चिमकी प्रमुख लुम्बिनी गौतमले क्रिकेट खेल मार्फत रुकुमलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा चिनाउनुपर्ने बताउनुभएको छ । बुधवार जिल्ला क्रिकेट सङ्घको दोस्रो साधारण सभालाई सम्बोधन गर्दै जिल्लामा मात्र सीमित नभई क्रिकेट खेलले रुकुमलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा चिनाउनुपर्ने बताउनुभएको हो । जिल्लामा पछिल्लो समय क्रिकेट खेल प्रतिको क्रेज बढ्दै गएको उल्लेख गर्दै सोही अनुसार खेलाडी उत्पादन गर्न सङ्घले ध्यान दिनुपर्ने उहाँको भनाइ थियो ।
"सङ्घ, प्रदेश, स्थानीय सरकारले खेलकुद विकासमा धेरै कुराको व्यवस्थापन गरेको छ, जिल्लाबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा खेल्न सक्ने धेरै खेलाडी उत्पादन गर्नुपर्छ" समन्वय प्रमुख गौतमले भन्नुभयो । सरकारको तर्फबाट खेल विकासको लागि लागिरहेको र जिल्ला क्रिकेट सङ्घ पनि सोही अनुसार लाग्नुपर्नेमा उहाँले जोड दिनुभयो ।
जिल्लामा क्रिकेट खेलको क्रेज बढिरहेको बेला खेल सञ्चालन गर्न खेलकुद मैदान नहुँदा ठुलो समस्या हुने गरेको जिल्ला खेलकुद विकास समितिका अध्यक्ष शैलेश शर्माले बताउनुभयो । पहिले खेल सङ्घ दर्ता गरेर झोलामा राखेर विदेश जानको लागि मात्र प्रयोग गरिन्थ्यो, अहिले राष्ट्रिय खेलकुद परिषद्ले काम गर्ने सङ्घलाई मात्र नवीकरण गर्ने निर्णय गरेपछि सबै खेलकुद सङ्घले आफ्नो गतिविधि बढाएका बढाएका छन् ।अन्य खेलको तुलनामा क्रिकेट खेल मैदान पर्याप्त नहुँदा खेलाडीले समस्या भोग्नु परेको छ" अध्यक्ष शर्माले भन्नुभयो ।
जिल्ला क्रिकेट सङ्घले क्यानबाट मान्यता प्राप्त गरे सँगै विभिन्न गतिविधि सञ्चालन गरिरहेकोमा सङ्घको प्रशंसा गर्दै खेलकुद विकास समितिको तर्फबाट पनि सहयोग गरिरहेको र आगामी दिनमा पनि गर्ने प्रतिबद्धता जनाउनुभयो ।
चौरजहारी नगरपालिकाको १२ नम्बर वडामा मिनी क्रिकेट रङ्गशाला निर्माणको काम भइरहेको र मुसिकोट नगरपालिका वडा नम्बर ६ ट्याखोलामा प्रदेश सरकारले खेलकुद मैदान निर्माण गर्न यसै आर्थिक वर्षमा ५० लाख बजेट विनियोजन गरेकाले अब क्रिकेट सङ्घलाई आफ्ना गतिविधि सञ्चालन गर्न सहज हुने विश्वास उहाँले व्यक्त गर्नुभयो ।
शून्य अवस्थाबाट पछिल्लो समय क्रिकेट खेल मार्फत जिल्लालाई चिनाउन क्रिकेट सङ्घले विभिन्न गतिविधि सञ्चालन गर्न थालेको भन्दै प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्तले खुसी व्यक्त गर्नुभयो । क्रिकेट खेलको महत्त्व बढ्दै गएपछि राज्यका निकायहरूले हेर्ने नजर समेत परिवर्तन भएको उहाँले बताउनुभयो । क्रिकेट खेल नेपाललाई चिनाउने लयमा अगाडी बढेकाले जिल्लामा पनि खेलाडी उत्पादन तथा क्रिकेट खेललाई विकास गर्न सबैले हातेमालो गर्नुपर्ने प्रमुख जिल्ला अधिकारी पन्तको भनाई थियो । जिल्ला क्रिकेट सङ्घले बुधवार विभिन्न निर्णय गर्दै दोस्रो साधारण सभा सम्पन्न गरेको हो ।