नेपाल क्रिकेट संघ (क्यान)का कोषाध्यक्ष पदम खड्काले आर्थिक रूपमा पारदर्शी जिल्लालाई क्यानले प्रोत्साहन गर्ने नीति लिएको बताउनुभएको छ । बुधवार जिल्ला क्रिकेट सङ्घ रुकुम पश्चिमको दोस्रो साधारण सभालाई भर्चुअल रूपमा सम्बोधन गर्दै उहाँले हिसाब किताब दुरुस्त राख्ने, वार्षिक रूपमा लेखा परीक्षण (अडिट) गर्ने जिल्ला सङ्घलाई क्यानले आर्थिक रूपमा प्रोत्साहन गर्ने नीति लिएको बताउनुभयो । वार्षिक रूपमा अडिट गर्ने जिल्ला सङ्घलाई कार्यालय सञ्चालन बापत पाउने वार्षिक रकममा थप ५० हजार थपेर प्रदान गरिने उहाँले बताउनुभयो ।
गत आर्थिक वर्ष २०८०/०८१ को अडिट गर्ने जिल्लालाई वार्षिक कार्यालय खर्च स्वरूप प्राप्त गर्ने १ लाख सहित ५० हजार थप गरेर पठाइने उहाँले बताउनुभयो । यसबाट जिल्ला सङ्घ आर्थिक रूपमा पारदर्शी हुनुका साथै आर्थिक रूपमा बलियो समेत हुने बताउनुभयो । कर्णाली प्रादेशिक क्रिकेट सङ्घका अध्यक्ष समेत रहनुभएका खड्काले रुकुम पश्चिमले क्रिकेट विकासका लागि खेलिरहेको भूमिकाको प्रशंसा समेत गर्नुभयो । ‘रुकुमले क्रिकेट विकासमा जुन गति लिइरहेको छ, त्यसको म प्रशंसा गर्न चाहन्छु, जिल्लाका साथीभाइहरूलाई धन्यवाद दिन चाहन्छु, उहाँले भन्नुभयो ।’ साथै उहाँले आगामी दिनमा समेत यसको निरन्तरताको कामना गर्नुभयो ।