रुकुम पश्चिममा पहिरोले खानेपानी आयोजना बगाएपछि करिब तीन सय बढी घर परिवार खानेपानीको समस्यामा परेका छन् । जिल्लाको बाँफिकोट गाउँपालिका वडा नम्बर २ स्थित जरेमुल–भाटी– स्वाँरा खानेपानी योजनाको पाइप लाइन पहिरोले बगाएपछि स्थानीयलाई खानेपानीको समस्या भएको हो । शनिवार राती गएको पहिरोले खाने पानी योजनाको पाइप लाइनमा क्षति पुर्याएपछि पाँच दिन देखि यहाँका स्थानीयहरूले दूषित पानी प्रयोग गर्नुपर्ने बाध्यता रहेको छ । उक्त आयोजनाबाट वडाका भाटी, स्वाँरा, लोदगैरा, मेलगैरी, मेलपोखरा, काँडा, रत्तकाट्टे, भैँसीमेला, माटौरा, लगायतका दर्जन बढी बस्तीका नागरिकहरू लाभान्वित भएका थिए । योजनामा क्षति पुर्याएपछि भने अहिले यी बस्तीका स्थानीयलाई खानेपानीको समस्या भएको छ ।
पहिरोले खानेपानी आयोजनको करिब ६० मिटर पाइप बगाएको स्थानीय यामबहादुर बुढाले जानकारी दिनुभयो । उहाँका अनुसार खानेपानीको पाइप लाइन अवरुद्ध भएपछि वडाका सयौँ सर्वसाधारणले पोखरी तथा आकाशको पानी प्रयोग गरिरहेका छन् । वडा सरकारलाई यस विषयमा पटक पटक जानकारी गराउँदा पनि वेवास्ता गरेको स्थानीयको भनाई छ ।
यस क्षेत्रमा बसोबास गर्ने नागरीहरूका लागि उक्त खानेपानी योजना बाहेक अन्य ठाउँबाट पानी ल्याउने स्रोत समेत छैन । नजिकै पानीको मुहान तथा कुवा नहुँदा पोखरी तथा आकाशको पानी पिउने गरेको स्थानीय कविराज बुढाले बताउनुभयाे। बर्सात भएको समयमा आकाशको पानी भाडामा जम्मा गरेर पिउने गरिए पनि वर्षा नहुँदा पोखरीको दूषित पानी पिउनु पर्ने बाध्यता रहेको उहाँकाे भनाइ छ ।
२०६३ सालमा निर्माण भएको उक्त आयोजना जीर्ण भएपछि गत वर्ष कर्णाली प्रदेश सरकारको ८० लाख बजेट खर्चिएर ठेकेदार मार्फत नयाँ योजना निर्माण गरिएको थियो । अन्य ठाउँबाट खानेपानी ल्याउने मुहान नभएको कारण बाध्यताले भए पनि दूषित पानी पिउने गरेको सोही ठाउँका स्थानीय धनबहादुर नाथले बताउनुभयो । ‘हाम्रो लागि पानीको स्रोत भनेको यही योजना हो, त्यो पनि पहिरोले बगाइदियो पिउने पानीको समस्या हुँदा गाई भैँसीलाई पानी खुवाउनको लागि निर्माण गरिएको पोखरीमा जम्मा भएको दूषित पानी प्रयोग गर्ने गरेका छौँ, गाई भैँसीको दिसा पिसाब पोखरीमै हुन्छ, हामीले बाध्यताले दूषित पानी पिउनु परेको छ’ स्थानीय नाथले भन्नुभयो । वडा सरकारलाई पटक पटक जानकारी गराउँदा पनि यस विषयमा चासो नदेखाएको उहाँले गुनासो गर्नुभयो ।
२ नम्बर वडा अध्यक्ष प्रकाश खत्रीले भने अवरुद्ध भएको खानेपानी योजना ठेकेदारले सुचारु गर्नुपर्ने बताउनुभयो । उक्त खानेपानी योजना निर्माणको जिम्मा लिएको सिस्ने स्यार्पू कन्ट्रक्सनले मर्मत गर्नुपर्ने उहाँको भनाई छ । ‘योजना निर्माण भएको वडामा कुनै जानकारी तथा निवेदन छैन, योजना सम्पन्न भएको सरकारलाई लिखित रूपमा जानकारी नआएसम्म त्यसको मर्मत गर्नुपर्ने जिम्मा निर्माण कम्पनीकै हुन्छ’ वडा अध्यक्ष खत्रीले भन्नुभयो ।
उता निर्माण कम्पनीका प्रतिनिधि खिमप्रसाद पुरीले भने खानेपानी योजनाको जिम्मा वडालाई दिएको बताउनुभयो । योजना निर्माण गरेर वडालाई जिम्मा दिएको हुँदा मर्मत पनि वडा सरकारले गर्नुपर्ने उहाँले बताउनुभयाे । ‘निर्माण कम्पनीले काम गर्ने क्रममा योजना पहिरोले बगाएको थियो भने त्यसको मर्मत गर्ने जिम्मा कम्पनीको हुन्थ्यो, तर हामीले योजना निर्माण गरेर सम्पूर्ण जिम्मा वडा सरकारलाई दिई सकेका छौँ’ उहाँले भन्नुभयो । वडा सरकारलाई जिम्मा दिइसकेको अवस्थामा योजनाको मर्मत ठेकेदारले गर्नुपर्छ भन्ने विषय गलत भएको निर्माण कम्पनीका प्रतिनिधि पुरीको भनाई छ ।
वडाले निर्माण कम्पनी र निर्माण कम्पनीले वडालाई समस्या देखाउँदा स्थानीयलाई भने दूषित पानी पिउनुपर्ने बाध्यता रहेका छ । समस्याको समाधान तत्काल गरी खानेपानी सञ्चालन गर्न स्थानीयले माग गरेका छन् ।