रुकुम पश्चिमको मुसिकोट नगरपालिका वडा नम्बर १ खलंगामा रहेको विजयश्वरी इङ्लिस मिडियम बोर्डिङ स्कुलले निःशुल्क रुपमा पठनपाठनको व्यवस्था गरेकाे छ । विद्यालयले अतिरिक्त क्रियाकलापमा उत्कृष्ट हुने विद्यार्थीलाई पुर्णरुपमा निःशुल्क र एसइईको नतिजामा ३ दशमलव ६० जिपिए भन्दा माथिको जिपिए प्राप्त गर्ने विद्यार्थीलाई शुल्कको ५० प्रतिशतमा पठनपाठन गराउने सुविधा ल्याएको हो । बिहिवार एक कार्यक्रमका विच यो सुविधाको सुरुवात गरिएको विजयश्वरी इङ्लिस मिडियम बोर्डिङ स्कुलका प्रिन्सिपल जयबहादुर थापाले जानकारी दिनुभयो ।
उहाँका अनुसार विद्यालयमा विहिबारबाट नै लागु हुनेगरी कर्णाली प्रदेशमै पहिलो पटक अल एटेन्ड व्यवस्थाको पनि सुरुवात गरिएको छ । यो व्यवस्था सुरु भएसँगै विद्यार्थी विद्यालयमा पुगेको समय, विद्यालयबाट निस्केको समयको जानकारी अभिभावकको फोनमा एसएमएस मार्फत पुग्ने छ । आफ्नो बालबालिकाको लागि अब अभिभावकले विद्यालयमा सम्पर्क गर्नुपर्ने छैन । विद्यार्थीले आफ्नो परिचय पत्र अल एटेन्ड सिस्टममा देखाएपछि सिधै अभिभावकलाई एसएमएस मार्फत जानकारी हुने व्यवस्थाको सुरुवात गरिएको प्रिन्सिपल थापाले जानकारी दिनुभयो ।
विद्यालयमा पठनपाठनको लागि उत्कृष्ट शिक्षक व्यवस्था गर्नुका साथै कक्षा कोठामा विद्यार्थीहरुको निगरानीको लागि सिसि क्यामेरा समेत जडान गरिएको बताइएकाे छ । विजयश्वरी इङ्लिस मिडियम बोर्डिङ स्कुललमा शैक्षिक सत्र २०८१ देखि कक्षा ११ मा व्यवस्थापन, कम्प्युटर बिज्ञान तथा कानुन समुहमा भर्ना खुल्ला गरेको समेत विद्यालयले जनाएको छ ।