Kakhara सबैको खबर सम्पूर्ण खबर
रुकुम पश्चिम र जाजरकोटका बाल विकास शिक्षकका लागि २ दिने अभिमुखीकरण सुरु

भूकम्प प्रभावित विद्यालय अन्तर्गत टिएलसी टाइप टु निर्माण भइरहेका ३३ वटा विद्यालयका बाल विकास शिक्षकहरूको लागी मुसिकोट खलङ्गामा २ दिने अभिमुखीकरण कार्यक्रम सुरु भएको छ ।  युनिसेफको आर्थिक सहयोग र रुकुमेली समाज विकास केन्द्र रुकुम पश्चिमको सहजीकरणमा अभिमुखीकरण सुरु भएको हो । कार्यक्रममा रुकुम पश्चिमका सानोभेरी गाउँपालिका, आठबिसकोट नगरपालिका तथा जाजरकोट जिल्लाका नलगाड नगरपालिका र बारेकोट गाउँपालिकामा टिएलसी टाइप टु निर्माण गरिएका विद्यालयहरूमा कार्यरत बाल विकास शिक्षकहरूकाे सहभागिता रहेकाे छ । 

आइतबार सम्म सञ्चालन हुने कार्यक्रममा  प्रारम्भिक बाल विकास सिकाई अवधारणामा पुनरावलोकन गर्ने, सिकाई सामाग्रीको प्रयोगात्मक अभ्यास गराउने, बाल विकास पाठ्यक्रमको पाठ्यवस्तुमा जानकारी गराउने उद्देश्यहरू राखिएको छ । अभिमुखीकरण कार्यक्रमको सहजीकरण सेतो गुराँस सुर्खेतमा आबद्ध जानकी देवकोटाले गरिरहनु भएको छ ।

शिक्षा पुनर्लाभ अन्तर्गत रुकुमेली समाज विकास केन्द्रको सहजीकरणमा रुकुम पश्चिम र जाजरकोट जिल्लाका चार वटा पालिकामा उक्त कार्यक्रम विगत तीन महिना देखी सञ्चालन भइरहेको परियोजनाका कार्यक्रम संयोजक रमेश कुमार गौतमले जानकारी दिनुभयाे । भूकम्प पश्चात् आपतकालिन अवस्थामा पनि युनिसेफको आर्थिक सहयोगमा रुकुम जिल्लाका सबै पालिका र जाजरकोट जिल्लाका दुई वटा पालिकामा रुकुमेली समाज विकास केन्द्रले शिक्षा र खानेपानी तथा सरसफाइमा काम गरेको थियो ।

प्रकाशित मिति: शनिबार, भदौ १५, २०८१  २०:३७
प्रतिक्रिया दिनुहोस्
Weather Update