अखिल क्रान्तिकारीको २३ औँ राष्ट्रिय सम्मेलनका लागि प्रतिनिधि छनोटमा रुकुम पूर्व पहिलो जिल्ला बनेको छ । नेकपा माओवादी केन्द्रको विद्यार्थी सङ्गठन अखिल क्रान्तिकारी रुकुम पूर्वको जिल्ला सम्मेलनबाट प्रतिनिधि छनोट गरिएको हो ।
सम्मेलनबाट केन्द्रीय उपाध्यक्ष तथा केन्द्रीय कार्यालय प्रमुख केशव रावल सहित विद्यार्थी नेताहरू छनोट भएका छन् । प्रतिनिधि चयन भएसँगै रावलले अध्यक्षमा उम्मेदवारी दिने घोषणा गर्नुभएको छ ।
‘हामीले राष्ट्रिय सम्मेलनलाई केन्द्रमा राखेर देशैभरि आधारभूत तहका सम्मेलन सम्पन्न गरेका छौँ, जिल्लाका सम्मेलनहरू सम्पन्न गर्ने क्रम जारी छ, प्रदेशका सम्मेलनहरू घोषणा भइसकेका छन्, हामी २५ गतेसम्म प्रदेशका सम्मेलन सम्पन्न गर्ने छौँ र प्रतिनिधि छनोट पनि २५ गते भित्र सम्पन्न हुनेछ, हामी असोज २ देखि ५ गते काठमाडौँमा राष्ट्रिय सम्मेलन गर्दै छौँ रावलले भन्नुभयो ।’
राष्ट्रिय सम्मेलनले ३३ पदाधिकारी सहित २४३ केन्द्रीय समिति र तीन वटा आयोगका पदाधिकारीहरू समेत निर्वाचित गर्ने छ । यस पटकको सम्मेलनले प्रत्यक्ष निर्वाचन प्रणालीबाट पदाधिकारी तथा सदस्य निर्वाचित गर्ने उहाँको भनाई छ ।
हामी २३ औँ राष्ट्रिय सम्मेलन नेतृत्व निर्माणमा मात्र नभई सङ्गठनात्मक हिसाबले समस्याहरू समाधान गर्ने गरी विधानमा व्यापक छलफल हुने उपाध्यक्ष रावलले बताउनुभयो । शैक्षिक कार्यदिशा लगायत सङ्गठनको नीति कार्यक्रमहरू बारे हरेक तहका सम्मेलनमा व्यवस्थित व्यापक छलफल गरिरहेको र त्यसलाई राष्ट्रिय सम्मेलनमा पारित गर्ने पनि उहाँले बताउनुभयो ।
२३ औँ राष्ट्रिय सम्मेलनले अखिल क्रान्तिकारीलाई नयाँ उचाइमा उठाउने गरी नेतृत्व निर्माण र नीति तथा कार्यक्रमहरू तय उहाँले बताउनुभयो ।
केशव रावल बारे....
वि.सं. २०५६ सालमा बाल सङ्गठनबाट राजनीतिमा जोडिएका उहाँ हाल विद्यार्थी सङ्गठनको केन्द्रीय उपाध्यक्ष सहित कार्यालय प्रमुखको जिम्मेवारीमा हुनुहुन्छ । राजनीतिमा जबरजस्ती उदाएका उहाँ पार्टी र सङ्गठनमा गुटको विरोध गर्ने पात्रका रुपमा हुनुहुन्छ । उहाँले २३ औँ सम्मेलनमा पनि गुट हुन नहुने धारणा राख्दै आउनुभएको छ । राष्ट्रिय सम्मेलनको हलले एकै पटक सबै गुटहरूको खारेज गर्ने विश्वास उहाँको छ ।
२०५६ः सालमा प्रावि भुरुङ्गा बाल सङ्गठनमा सङ्गठित
२०५८ः मावि इकाई समिति ,
२०५८ः टोल समिति अध्यक्ष
२०५९ः गाउँ समिति भुरुङ्गा अध्यक्ष
२०६१ः सालमा एरिया समिति सदस्य
२०६३ः विशेष एरिया समिति सहसचिव
२०६३ः अखिल क्रान्तिकारी रुकुमको जिल्ला सदस्य
२०६४ः अखिल क्रान्तिकारी रुकुमको सचिवालय सदस्य
२०६६ः अखिल क्रान्तिकारी रुकुमको जिल्ला समितिको कोषाध्यक्ष
२०६६ः रुकुमबाट काठमाडौँ उपत्यकामा सरुवा
२०६६ः अखिल क्रान्तिकारी सम्पर्क विभागको सदस्य
२०६७ः अखिल क्रान्तिकारी सम्पर्क समितिको उपाध्यक्ष २०६९ केन्द्रीय समिति सदस्य
२०७३ः स्ववियु सभापतिको उम्मेदवार त्रिचन्द्र क्याम्पस घण्टाघर काठमाडौँ । नेविसंघले निर्वाचन समितिको कार्यालयमा ताला लगाई निर्वाचन रोकिएको
२०७३ः केन्द्रीय समिति सचिवालय सदस्य नेवा राज्य समिति सहसंयोजक तथा स्वयंसेवक विभागको केन्द्रीय सचिव
२०७४ः अखिल क्रान्तिकारीको केन्द्रीय कोषाध्यक्षमा निर्वाचित
२०७८ः अखिल क्रान्तिकारीको केन्द्रीय उपाध्यक्ष
हाल केन्द्रीय उपाध्यक्ष तथा केन्द्रीय कार्यालय प्रमुख