Kakhara सबैको खबर सम्पूर्ण खबर
भूमे अब पूर्ण खोप सुनिश्चित गाउँपालिका
पूर्ण खोप सुनिश्चित गाउँपालिका घोषणापछि जिल्ला खोप समन्वय समितिको तर्फबाट प्रदान गरिएको प्रमाण पत्र ग्रहण गर्दै पालिका खोप समन्वय समितिका संयोजक रामसुर बुढा मगर ।

रुकुम पूर्वको भूमे पूर्ण खोप सुनिश्चित गाउँपालिका घोषणा भएको छ । बुधबार औपचारीक कार्यक्रमबीच भूमेलाई पूर्ण खोप सुनिश्चित गाउँपालिका घोषणा गरिएको हो । जिल्ला खोप समन्वय समितिका सदस्य सचिव गौरव ढकालले भूमेलाई पूर्ण खोप सुनिश्चित गाउँपालिका घोषणा गर्नुभएको हो ।

जन्मेदेखि १५ महिना सम्म बच्चाले लगाउनुपर्ने खोप लगाइसकेको सुनिश्चित भएपछि भूमेलाई पूर्ण खोप सुनिश्चित गाउँपालिका घोषणा गरिएको स्वास्थ सह संयोजक सञ्जिव खड्काले जानकारी दिनुभयो । उहाँका अनुसार पालिकाका ९ वटै वडामा ३ सय २३ जना बालबालिका रहेको र सबैले पूर्ण खोप लगाइसकेको सुनिश्चित भएपछि घोषणा गरिएको हो ।

१६ देखि २३ महिनाका ति सबै बालबालिकाले ११ वटा रोग विरुद्धका ८ वटा खोप लगाइसकेका छन् । जन्मेदेखि १५ महिना सम्मका बालबालिका भने खोल लाउने चरणमै छन् । अहिले खोप लाउने चरणमा रहेका र अरु जन्मने बच्चा पनि खोपबाट बञ्चित नहुने सुनिश्चितता गरेर घोषणा गरिएको हो ।

पालिका खोप समन्वय समितिको संयोजक एवं भूमे गाउँपालिका अध्यक्ष रामसुर बुढा मगरले भूमे अब पूर्ण खोप सुनिश्चित गाउँपालिका घोषणा भएको बताउनुभयो । मानव विकास सूचकांकमा यसको महत्वपूर्ण योगदान हुने उहाँको भनाई छ । बालबालिकाको विकासमा खोपको महत्व भएको र त्यही महत्वलाई आत्मसाथ गरेर सबै मापदण्ड पूरा गरी भूमेलाई पूर्ण खोप सुनिश्चित गाउँपालिका घोषणा गरिएको उहाँले बताउनुभयो ।

‘पूर्ण खोप घोषणा भूमे गापाको शान, पूर्ण खोप दिगोपना अबको अभियान’ नारा सहित भूमेलाई पूर्ण खोप सुनिश्चित गाउँपालिका घोषणा गरिएको हो । यो घोषणा पछि जिल्ला खोप समन्वय समितिले गाउँपालिकालाई प्रमाण पत्र पनि दिएको छ । 

प्रकाशित मिति: बुधबार, वैशाख २२, २०७८  १३:५६
प्रतिक्रिया दिनुहोस्
Weather Update