आइतबार खराब मौसमका कारण रुकुम पश्चिमको आठविसकोट नगरपालिका वडा नम्बर ९ राडीमा आकस्मिक रुपमा अवतरण गरिएका दुई वटै हेलिकप्टर आज सुर्खेत गएका छन् । आज मौसम सफा भएसँगै आकस्मिक रुपमा अवतरण गरिएका कर्णालीका मुख्यमन्त्री यामलाल कँडेल सवार सहित दुई वटै हेलिकप्टर सुर्खेत प्रस्थान गरेका हुन् । आज बिहान १० तिर मुख्यमन्त्री सवार हेलिकप्टर र सुत्केरी लिन आएको नेपाली सेनाको हेलिकप्टर सुर्खेत गएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ ।
आइबार डोल्पाको त्रिपुरा सुन्दरी नगरपालिकाबाट सुर्खेतका लागि उडेको मुख्यमन्त्री सवार हेलिकप्टर र सोही नगरपालिकाकै २५ बर्सिया सुत्केरी पद्मीकुमारी बुढालाई बोकेको नेपाली सेनाको हेलिकप्टर खराब मौसमका कारण राडी स्थित रगंशालामा अवतरण गरेका थिए ।
त्रिपुरा सुन्दरी नगरपालिकाकी २५ बर्सिया सुत्केरी बुढाको अवस्था जटिल रहेकाले आइतबार साँझ नै आठविसकोट नगरपालिकाको एम्बुलेन्स मार्फत सुर्खेत पठाइएको थियो । सुत्केरी बुढा र उहाँको बच्चाको अवस्था जटिल रहेकाले राती नै नगरपालिको एम्बुलेन्स मार्फत थप उपचारको लागि सुर्खेत पठाइएको आठविसकोट नगर उपप्रमुख धनकुमारी शाहीले जानकारी दिनुभयो । बुढाले जुम्ल्याहा बच्चालाई जन्म दिनुभएको थियो । एक बच्चाको मृत्यु भइसकेको र बुढाको साल नखसेपछि थप उपचारको हेलिकप्टरबाट उद्धार गरिएको थियो । तर प्रतिकुल मौसमका कारण हेलिकप्टर राडीमै अवतरण गर्नुपरेको थियो ।
त्यस्तै मुख्यमन्त्री कँडेल त्रिपुरा सुन्दरीको दर्शन तथा मेलाको अवलोकन गर्न डोल्पा पुग्नु भएको थियो । मुख्यमन्त्री कँडेलसहित उहाँका श्रीमती, डोल्पाको त्रिपुरा सुन्दरी नगरपालिका प्रमुख, सुरक्षा गार्ड र चालक सहित ५ जना सवार रहेका थिए । आइतबार हेलिकप्टर सुर्खेत जान नसकेपछि उहाँ र उहाँको टोली राडीमै बसेको थियो ।