रुकुम पश्चिममा प्रधानमन्त्री रोजगार कार्यक्रममा सूचिकृत भएका मध्य तीन प्रतिशत युवाहरूले मात्र रोजगार पाएका छन् । जिल्लाको चौरजहारी नगरपालिकामा गत आर्थिक वर्षमा प्रधानमन्त्री रोजगार कार्यक्रममा सूचिकृत भएका मध्य ३ दशमलव १३ प्रतिशत अर्थात् एक सय एक जनाले मात्र रोजगारी पाएका हुन् । बाँकी ९६ दशमलव ८६ प्रतिशत अर्थात् ३ हजार १ सय २१ जना सूचिकृत भएका युवाहरूले रोजगारी पाउन सकेनन् ।
गरिब तथा विपन्न परिवार र वडाको आवश्यकताको आधारमा छनोट गरेर युवाहरूलाई प्रधानमन्त्री रोजगार कार्यक्रम मार्फत रोजगारी दिएको नगरपालिकाले जनाएको छ । नगरपालिकामा सञ्चालित विभिन्न २५ वटा योजनामा छनोट भएका एक सय एक जनाले ९० दिन बराबरको रोजगारी प्राप्त गरेको चौरजहारी नगरपालिकाका रोजगार संयोजक कृष्णप्रसाद शर्माले जानकारी दिनुभयो ।
यहाँका अनुसार महिला १ हजार ६ सय ५७ र पुरुष १ हजार ५ सय ६४ गरेर कुल ३ हजार ३ सय २२ जना व्यक्ती सूचिकृत भएका थिए । जस अन्तर्गत छनोट भएका १ सय १ एक जनाले प्रतिदिन ६ सय ६८ रुपैयाँका दरले रकम प्राप्त गरेका हुन् । प्रधानमन्त्री राेजगार कार्यक्रम अन्तर्गत गोरेटो बाटो, सिँचाइ, पदमार्ग, खानेपानी लगायतका योजना सम्पन्न गरेको रोजगार संयोजक शर्माले जानकारी दिनुभयो । प्रधानमन्त्री रोजगार कार्यक्रमको लागि प्राप्त भएको ८४ लाख १८ हजार बजेट मध्य ९८ दशमलव १० प्रतिशत अर्थात् ८२ लाख ५६ हजार ६ सय ३८ रुपैयाँ ५८ पैसा बजेट खर्च भएको छ ।
मुख्यमन्त्री रोजगार कार्यक्रम: दुई सय युवा १९ स्वरोजगार
त्यस्तै गत आर्थिक वर्षमा नै मुख्यमन्त्री रोजगार कार्यक्रमबाट चौरजहारी नगरपालिकामा २ सय १९ बेरोजगार युवाले रोजगारी पाएका छन् । विभिन्न १४ वटा आयोजना मार्फत उनीहरूले रोजगारी प्राप्त गरेको हुन् । मुख्यमन्त्री रोजगार कार्यक्रममा युवाहरूले औसतमा ६६ दिन रोजगारी प्राप्त गरेको चौरजहारी नगरपालिका प्राविधिक सहायक प्रवीण थापाले जानकारी दिनुभयो ।
उहाँका अनुसार दक्ष कामदारले प्रतिदिन १ हजार १ सय ५५ रुपैयाँका दरले र अदक्ष कामदारले प्रतिदिन ८ सय ७० रुपैयाँका दरले ज्वाला पाएका छन् । नगरपालिकाको १४ वटै वडामा सञ्चालन भएका योजनामा अन्तर्गत पदमार्ग, सिँचाइ कुलो, विद्यालयको पर्खाल निर्माण, गोरेटो बाटो र खानेपानीको आयोजना निर्माण गरिएको प्राविधिक सहायक थापाले जानकारी दिनुभयो ।
यी आयोजना सप्रन्न गर्नको लागि नगरपालिकालाई २ करोड ११ लाख ८० हजार बजेट प्राप्त भएको थियो । प्राप्त भएको बजेटको ९९ दशमलव ९७ प्रतिशत अर्थात् २ करोड ११ लाख १३ हजार बजेट खर्च भएको नगरपालिकाले जनाएको छ ।