रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका वडा नम्बर ५ बडगाउँका घनश्याम विश्वकर्मा १० औँ ग्लोकल टिन हिरो २०२४ बन्नुभएको छ । गोल्छा ग्रुपद्वारा प्रस्तुत ग्लोकल टिन हिरोको टाइटल घनश्यामले जित्नुभएको हो । ग्लोकल टिन हिरोले विगत एक दशकदेखि विभिन्न क्षेत्रमा विशिष्टता हासिल गर्ने तथा समुदायमा महत्त्वपूर्ण योगदान दिएका किशोरकिशोरीहरूलाई सम्मानित गर्दै आएको छ ।
ग्लोकल टिन हिरो नेपालले किशोर किशोरीहरूको सृजनात्मकता, उत्साह र योगदानलाई कदर गर्दै उनीहरूलाई ग्लोबल र स्थानीय स्तरमा सकारात्मक परिवर्तन ल्याउन उत्प्रेरित गर्ने लक्ष्य राखेको छ । शिक्षा, उद्यमशीलता, कूटनीति, एवं अन्य विविध क्षेत्रका व्यक्तिहरूको उपस्थितिमा सोमबार अवार्ड कार्यक्रमको बिच ग्लोकल टिन हिरो नेपाल, २०२४ को घोषणा गरिएको हो ।
अन्तिम ६ प्रतिस्पर्धी आशिष पन्थी (प्राविधिक शिक्षक), निश्चल भट्टराई (शैक्षिक कार्यकर्ता), पूर्णिमा तिम्सिना (बाल अधिकार कार्यकर्ता), सजनी शर्मा (सामाजिक कार्यकर्ता), घनश्याम विश्वकर्मा र श्रीजय सुवेदी (प्राविधिक उत्साही) बिच ग्लोकल टिन हिरो चयन गरिएको थियो । घनश्याम बालबालिकाको अधिकारका क्षेत्रमा क्रियाशील एक सामाजिक अभियन्ता हुनुहुन्छ । १९ वर्षीय घनश्याम विद्यालय स्तरबाटै बालबालिकाको अधिकारका क्षेत्रमा क्रियाशील हुनुहुन्छ ।
बाल क्लब देखि टिन हिरोसम्मको यात्रा
स्थानीय बालक लव हुँदै बाँफिकोट गाउँ बाल क्लब सञ्जाल समितिको अध्यक्षका रूपमा काम गर्नुभएका उहाँ हाल राष्ट्रिय किशोर सञ्जालको अध्यक्षका रूपमा काम गरिरहनुभएको छ । नेशनल कलेज काठमाडौँमा बिए.एल.एल.बि. दोस्रो सेमेस्टरमा अध्ययनरत उहाँ बाल अधिकार, मानसिक स्वास्थ्य, जलवायु र बालविवाहको विरुद्धको अभियानमा केन्द्रित हुनुहुन्छ ।
ग्लोकल टिन हिरोका लागि कुल ७ सय ९ जनाले आवेदन दिएका थिए । त्यसमध्येबाट उनीहरूले थालेको अभियान, त्यसले बालबालिका तथा किशोर किशोरीमा परेको प्रभाव लगायतका विषयमा अध्ययन गरिएको थियो । घनश्यामले राष्ट्रिय किशोर सञ्जालबाट विभिन्न फोरमहरूमा नेपालको प्रतिनिधित्व गर्नुभएको छ । उहाँको नेतृत्वमा लैङ्गिक हिंसा अन्त्यका लागि किशोर सहभागिता जरुरी छ अभियान चलिरहेको छ ।
बालबालिकाका लागि जलवायु न्याय सम्बन्धी कार्यक्रम, बालबालिकाका लागि अनलाइन सुरक्षा कार्यक्रम सञ्चालन गर्नुका साथै उहाँको नेतृत्वमा नेपालमै पहिलो पटक काठमाडौँमा किशोरकिशोरीको लागि मनोसामाजिक अस्पताल समेत स्थापना भएको छ । कोभिडको बेला रेडियो मार्फत सचेतना फैलाउने देखि वर्ल्ड सोसल फोरम २०२४ मा ‘अर्को विश्व सम्भव छ’ अन्तर्गत ग्लोबल एसेम्ली अन चाइल्ड राइट कार्यक्रममा नेपाल प्रतिनिधिको रूपमा सहभागिता समेत जनाइसक्नुभएको छ ।
आसन्न १६ औँ राष्ट्रिय योजनामा किशोरकिशोरी सम्बन्धीका मुद्दाहरूलाई सम्बोधन गर्नका लागि सुझाव दिनुका साथै विभिन्न निकायमा ध्यानाकर्षण गराउने काममा पनि उहाँले नेतृत्व गर्नुभएको छ । जाजरकोट भूकम्पका बेला रक्तदान शिविर सञ्चालन गर्ने देखि विभिन्न निकायहरूसँग मिलेर राहत वितरण गर्ने काममा पनि उहाँको नेतृत्वदायी भूमिका थियो ।
थप हौसला मिलेको छ
यो अवार्डले आफूले थालेको अभियानमा थप हौसला मिलेको प्रतिक्रिया उहाँले दिनुभयो । ‘मैले जे अभियान थालेको छु, यो अवार्डले यो अभियानलाई थप उचाइमा पुर्याउन मदत पुग्ने विश्वास गरेको छु, उहाँले भन्नुभयो ।’ लामो समय देखि आफूले थालेको अभियानको यो अवार्डले कदर गरेको समेत उहाँले बताउनुभयो ।