रुकुम पश्चिममा सुरक्षित जनता आवास कार्यक्रम मार्फत ३ सय ३४ वटा घरहरूमा खरका छाना विस्थापित गरिएको छ । जिल्लाको त्रिवेणी गाउँपालिकामा ३ वर्षको अवधिमा ३ सय ३४ वटा घरहरूमा खर (फुस)का छाना विस्थापित गरेर जस्तापाताले छाना निर्माण गरिएको हो । सुरक्षित जनता आवास कार्यक्रम सुरु भएदेखि ३ वर्षको अवधिमा पालिकामा उक्त सङ्ख्यामा खर(फुस) का छाना विस्थापित गरेर जस्तापाताले घर निर्माण गरिएको त्रिवेणी गाउँपालिकाका योजना शाखा प्रमुख अमर पुनले जानकारी दिनुभयो ।
उहाँका अनुसार कार्यक्रम सुरु भएको पहिलो वर्ष २०७७/०७८ मा ५० घर, आर्थिक वर्ष २०७८/०७९ मा ७० र आर्थिक वर्ष २०७९/०८० मा २ सय १४ घर गरेर कुल ३ सय ३४ घरहरू सुरक्षित जनता आवास कार्यक्रम मार्फत खरका छाना हटाएर जस्तापाताले निर्माण गरिएको हो । सुरक्षित जनता आवास कार्यक्रममा छनोट भएका परिवारलाई ५० हजार रुपैयाँका दरले रकम प्रदान गरिएको थियो । सोही रकमबाट भएका घरपरिवारले जस्तापाताको छाना निर्माण गरेका हुन् । पालिका भरका ३ सय ३४ वटा घरहरू निर्माण गर्न १ करोड ६५ लाख ७३ हजार रकम खर्च भएको योजना शाखा प्रमुख पुनले जानकारी दिनुभयो ।
गत आर्थिक वर्षमा भने बजेट प्राप्त नभएकाले पालिकामा सुरक्षित जनता आवास कार्यक्रम सञ्चालन हुन सकेन । पालिकामा सुरक्षित जनता आवास कार्यक्रममा सूचिकृत भएका ६ सय ६२ घरपरिवार मध्ये झन्डै आधा ३ सय २४ घरपरिवार सुरक्षित जनता आवास कार्यक्रमको लाभ लिन सकेका छैनन् । उनीहरू सुरक्षित जनता आवास कार्यक्रमको पर्खाइमा छन् । पर्खाइमा रहेका घरपरिवारको लागि सङ्घीय आयोजना इकाई कार्यालय सुर्खेतमा रकम माग गरी पठाएको शाखा प्रमुख पुनले जानकारी दिनुभयो । सुरक्षित जनता आवास कार्यक्रम दलित लक्षित कार्यक्रम भएकाले यस कार्यक्रमबाट बढी दलित समुदाय र विपन्न तथा गरिब परिवार लाभान्वित भएको गाउँपालिकाले जनाएको छ ।