Kakhara सबैको खबर सम्पूर्ण खबर
रुकुम पूर्वमा तेस्रो साहित्य महफिल आयोजना 

रुकुम पूर्वमा तेस्रो साहित्य महफिल २०८१ हुने भएको छ । भाषा, साहित्य, कला र संस्कृति, जीवन र जगतको समृद्धि, भन्ने मूल नाराका साथ जिल्लाको पुथाउत्तरगंगा गाउँपालिका वडा नम्बर १० स्थित तकसेरामा भाद्र २८ गते महफिल हुन लागेको हो । राप्ती साहित्य परिषद् जिल्ला शाखा रुकुम पूर्वको आयोजना तथा पुथाउत्तरगंगा गाउँपालिकाको आर्थिक सहयोगमा तेस्रो साहित्य महफिल सञ्चालन गर्न लागिएको छ । 

नेपाली साहित्यको उत्थान विकास सँगसँगै साहित्य क्षेत्रको संरक्षण र संवर्द्धन गर्ने उद्देश्यले साहित्य महफिल गर्न लागिएको राप्ती साहित्य परिषद् रुकुम पूर्वले जनाएकाे छ । महफिलमा विभिन्न ठाउँका ६ जना ख्याति प्राप्त कविहरूको सहभागिता रहने भएको छ । कवि द्वय दीपक शर्मा र अनिता न्यौपाने, गजलकार द्वय सुमन स्मारिका र डिवी स्वेद तथा मुक्तककार द्वय सुनिता कँवर र भोजराज घोडासैनी महफिलका मुख्य आकर्षणको रूपमा रहने भएका छन् । 

साहित्य सम्बन्धी रुचि भएका नयाँ पुस्तालाई हौसला तथा जिल्लामा साहित्यलाई संरक्षण गरी बलियो बनाउन महफिल आयोजना गरिएकाे राप्ती साहित्य परिषद् रुकुम पूर्वकी अध्यक्ष जमुना गौतमले जानकारी दिनुभयो । जिल्लामा पछिल्लो समय साहित्यमा धेरैको रुचि बढेको उहाँको बताउनुभयो । सुरुका वर्षहरूमा साहित्यमा खासै रुचि नभए पनि रुकुम पूर्वमा राप्ती साहित्य परिषद्को शाखा सञ्चालनमा आए देखि साहित्यमा धेरैको आकर्षण बढेको उहाँको भनाई छ । 

यस्तै महफिलमा रुकुम पूर्वका तीन गाउँपालिकाका अध्यक्ष तथा उपाध्यक्ष सँग बहस कार्यक्रम पनि राखिएको छ । सहभागीहरूले अध्यक्ष तथा उपाध्यक्षसँग कसरी बन्दै छ रुकुम पूर्व सेसन अन्तर्गत साहित्य, कला, संस्कृति, विकास तथा पर्यटन लगायतका विषयमा बहस गर्ने छन् । पहिलो र दोस्रो साहित्य महफिल सिस्ने र भूमेमा सम्पन्न गरेको राप्ती साहित्य परिषद् रुकुम पूर्व शाखाले तेस्रो साहित्य महफिल भाद्र २८ गते शुक्रवार पुथाउत्तरगंगा गाउँपालिकामा गर्न लागेको हो ।

प्रकाशित मिति: मंगलबार, भदौ १८, २०८१  १६:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update