रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका वडा नम्बर ३ र ५ मा फैलिएको स्यार्पू तालमा पहिलो पटक मोटर बोट सञ्चालनमा आएको छ । काठको ढुङ्गा हुँदै अन्य आधुनिक डुङ्गा सञ्चालन भइरहेको स्यार्पू तालमा पहिलो पटक मोटरबाट चल्ने बोट सञ्चालनमा आएको हो ।
स्थानीय डुङ्गा तथा होटेल व्यवसायी दरिभान पुरीले मोटर बोट सञ्चालनमा ल्याउनुभएको हो । स्यार्पू तालको पर्यटन प्रवर्द्धन गर्ने मुख्य उद्देश्यका साथ व्यक्तिगत लगानीमा बोट सञ्चालनमा ल्याएको र करिब १८ लाख बढी लागत लागेको उहाँ बताउनुहुन्छ ।
स्यार्पू ताल कर्णाली प्रदेशकै प्रमुख पर्यटकीय स्थल हो । मनसुनको समयमा स्यार्पू ताल अझ हेर्न लायक हुन्छ । स्यार्पूतालको प्रचार प्रसार र संरक्षणका लागि विभिन्न प्रयासहरू भएका छन् । तर सार्थक भने खासै भएको पाइँदैन । रुकुम पश्चिमको सदरमुकामबाट नजिकैको दुरीमा रहे पनि स्यार्पू तालमा उल्लेख्य आन्तरिक पर्यटकको आगमन हुन सकेको छैन ।
मोटर बोट सञ्चालनले भने केही उत्साह थपिएको छ । स्यार्पूमा सामान्य अवस्थाको तुलनामा चहलपहल निकै बढेको देखिएको छ । बोट सञ्चालन गरेपछि एकदमै सकारात्मक प्रतिक्रिया पाइरहेको र बिदाको दिन १ हजार जनासम्म मानिसहरू स्यार्पू ताल पुग्ने गरेको व्यवसायी पुरी बताउनुहुन्छ ।
सबै कानुनी प्रक्रिया पुरा गरेर डुङ्गा सञ्चालन गरेको, सुरक्षामा विशेष ख्याल गरेको र स्थानीय सरकारबाट समेत सकारात्मक सहयोग रहेको पुरीले बताउनुभयो ।
मोटर बोट चढ्नकै लागि स्यार्पू तालमा पुग्नेहरूको सङ्ख्या ह्वात्तै बढेको हो । ताल पुग्नेहरू अधिकांश मोटर बोट चढ्ने रहर बोकेकाहरू नै भेटिन्छन् । बोट चढ्नका लागि लामो समय लाइन लाग्नुपर्ने बाध्यता रहेको छ । मोटर बोट चढेकाहरू मक्ख देखिन्छन् । मुसिकोट नगरपालिका १ का मेघलाल गौतमले स्यार्पू तालमा मोटर बोट चढ्न पाउँदा एकदमै खुसी लागेको बताउनुभयो । मोटर बोटले स्यार्पू तालको प्रचारमा थप टेवा पुग्ने विश्वास उहाँको छ ।
स्यार्पू तालमा आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउन हरेक वर्ष स्यार्पू मेला लाग्ने गरेको छ । यस बाहेक स्थानीय सरकार देखि अन्य निकाय र स्थानीय समेतको पहलमा विभिन्न गतिविधिहरू भइरहेका छन् । स्यार्पूलाई संरक्षण गरी यसको प्रचार प्रसारमा ध्यान दिने र स्थानीयको आयआर्जनमा ध्यान दिने भन्दै विभिन्न निकायको सहयोगमा स्थानीयका लागि होमस्टे तालिम तथा अन्य सहयोग समेत बेला बेलामा भइरहेका छन् ।
व्यक्तिगत रूपमा भएका यस्ता गतिविधिले पनि स्यार्पूको पर्यटन प्रवर्द्धनमा महत्त्वपूर्ण टेवा पुग्ने पर्यटन अभियन्ताहरूको बुझाई छ । स्यार्पूमा व्यक्तिगत रूपमा मोटर बोट सञ्चालन हुनु सुखद रहेको र यसले पर्यटन प्रवर्द्धनमा सकारात्मक टेवा पुग्ने पर्यटन अभियन्ता गोपाल केसी बताउनुहुन्छ ।
सरकार र निजी क्षेत्रको संयुक्त पहलबाट मात्र पर्यटन प्रवर्द्धन गर्न सकिने आम धारणा छ । तर यस्तो भने बिरलै देखिन्छ । कतै सरकारले पहल गर्ने अरूले सहयोग नगर्ने कतै निजी क्षेत्र कस्सिने सरकार सुस्ताउने अवस्था देखिन्छ । स्यार्पूको विकासका लागि सरकार र निजी क्षेत्र गुरुयोजना सहित लाग्नुपर्नेमा केसीको जोड छ ।
पर्यटन प्रवर्द्धन भनेको बाटो, भवन वा पुल जस्ता संरचना निर्माण भएजस्तो होइन । यसमा गरेको लगानीले तत्कालै प्रतिफल नदिन सक्छ । तर मुख्य कुरा यसमा सरोकारवालाको ध्यान गयो कि गएन भन्ने हो । स्यार्पू एउटा उदाहरण हुनसक्छ, साँच्चिकै यहाँको पर्यटन प्रवर्द्धनमा ठोस योजना सहित अघि बढेर प्रतिफल निकाल्न सक्ने हो भने । नत्र व्यक्तिगत रूपमा वा मौसमी रूपमा हुने लगानीले क्षणिक ध्यान खिच्न त सक्ला तर त्यो दिगो हुँदैन ।