Kakhara सबैको खबर सम्पूर्ण खबर
रेडक्रसको स्थापना दिवस: रुकुम पश्चिममा रक्तदान र फलफूल वितरण 

रुकुम पश्चिममा पनि रेडक्रस सोसाइटीको ६२ औँ स्थापना दिवस मनाइएको छ । दिवसको अवसरमा जिल्लामा रक्तदान र फलफूल वितरण कार्यक्रम सञ्चालन गरिएको थियो । नेपाल रेडक्रस सोसाइटी रुकुम पश्चिम शाखाले जिल्ला अस्पतालमा उपचाररत बिरामीलाई फलफूल वितरण गरेको हो भने अस्पतालमै रक्तदान कार्यक्रमको आयोजना गरेको थियो । स्थापना दिवसको अवसरमा जिल्ला अस्पतालमा उपचाररत ३३ जना बिरामीहरूलाई फलफूल वितरण गरिएको रेडक्रसका जिल्ला कोषाध्यक्ष यज्ञबहादुर खत्रीले जानकारी दिनुभयो । उहाँका अनुसार स्याउ, केरा र फ्रुटी वितरण गरिएको हो ।

त्यस्तै दिवसको अवसरमा जिल्ला अस्पतालमा रहेको ब्लड बैङ्कमा ५ जनाले रक्तदान गरेको उहाँले बताउनुभयो । धेरै जना इच्छुक रहे पनि रगत खेर नजाओस् भनेर ५ जनाको मात्र रगत निकालिएको र अन्यलाई सम्पर्कमा राखिएको उहाँको भनाई छ ।

कार्यक्रममा बोल्दै कर्णाली प्रदेश सभा सदस्य मिलन खड्काले रेडक्रसले मानवीय संवेदनलाई ध्यानमा राखेर काम गरिरहेको भन्दै खुसी व्यक्त गर्नुभयो । विशेष गरी आपत् विपत्मा रेडक्रसले खेलको भूमिका अतुलनीय रहेको र आगामी दिनमा पनि त्यसको निरन्तरताको कामना गर्नुभयो । चाहे भूकम्पको बेला होस वा बाढी पहिरो लगायतको विपत्को बेलामा होस रेडक्रसले मानवीय संवेदनालाई शिरोपर गरेर काम गरिरहेको आफूले देखेको उहाँको भनाई थियो ।

Redcros_Day-(1)-1725449444.jpg
जिल्ला समन्वय समितिका प्रमुख लुम्बिनी गौतमले रेडक्रसले जिल्लामा खेलेको भूमिकाका प्रशंसा गर्नुभयो । हरेक खालका विपत्तिमा रेडक्रसले सरकारको भरपर्दो साझेदारका रूपमा काम गरिरहेको भन्दै यसको प्रशंसा गर्नुभएको हो । नेपाल रेडक्रस सोसाइटी रुकुम पश्चिम शाखाका मन्त्री बलवीर पुनको अध्यक्षतामा भएको कार्यक्रममा कर्णाली प्रदेश सभा सदस्य मिलन खड्काको प्रमुख आतिथ्यता रहेको थियो ।

कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख लुम्बिनी गौतम, मुसिकोट नगरपालिकाका प्रमुख महेन्द्र केसी, प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्त, स्वास्थ्य सेवा व्यवस्थापक डाक्टर महेश चौलागाई, सुरक्षा निकाय, रेडक्रसकर्मी लगायतका सरोकारवालाको उपस्थिति रहेको थियो । रेडक्रसका कोषाध्यक्ष यज्ञबहादुर खत्रीकाे स्वागत मन्तव्य रहेको कार्यक्रमको सञ्चालन रेडक्रसका योजना अनुगमन, मूल्याङ्कन तथा प्रतिवेदन अधिकृत शैलश श्रेष्ठले गर्नुभएको थियो ।

‘मानवतालाई जीवित राखौँ’ भन्ने मूल नाराका साथ आज देशभरमा रेडक्रसको स्थापना दिवस मनाइएको छ ।

प्रकाशित मिति: बुधबार, भदौ १९, २०८१  १७:१६
प्रतिक्रिया दिनुहोस्
Weather Update