रुकुम पश्चिममा वर्षातका कारण विभिन्न भौतिक संरचनामा क्षति पुगेको छ । वर्षायाम सुरु भएदेखि जिल्लाका विभिन्न ठाउँका ३२ वटा भौतिक संरचनामा क्षति पुगेको हो । बाढी तथा पहिरोको कारण २९ वटा भौतिक संरचना पूर्णरुपमा क्षति पुग्दा ३ वटा भौतिक संरचनामा आंशिक क्षति पुगेको जिल्ला विपत् व्यवस्थापन समिति रुकुम पश्चिमले जनाएको छ ।
वर्षातका कारण बाढी तथा पहिरोबाट सबैभन्दा बढी १६ वटा घरहरूमा क्षति पुगेको छ । त्यस्तै जिल्लाभर १२ वटा उद्योग, कलकारखाना,तथा घट्ट र एक वटा सामुदायिक विद्यालयको भवन पूर्णरुपमा क्षति पुगेको जिल्ला विपत् व्यवस्थापन समितिका संयोजक तथा प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्तले जानकारी दिनुभयो । उहाँका अनुसार यो क्षतिको विवरण भदौ ११ गतेसम्मको हो । त्यसयता भने क्षति भएको छैन ।
त्यस्तै जिल्लाभर बाढी र पहिरोका कारण २ सय ८३ घरपरिवार विस्थापित भएका छन् । जसमा २ सय ६० घर परिवार आठविसकोट नगरपालिकाका रहेका छन् । बाँकी बाँफिकोट गाउँपालिकाका ८, सानीभेरी गाउँपालिकाका ९ र मुसिकोटमा नगरपालिकामा ६ गरेर २३ घरपरिवार विस्थापित भएका छन् ।
विस्थापित घरपरिवार आफन्त तथा स्थानीय तहहरूले व्यवस्थापन गरेको सुरक्षित ठाउँमा बसेको बताएको छ । जिल्लामा बाढी तथा पहिरोको कारण २ हजार ७ सय ११ घरपरिवार उच्च जोखिममा रहेको विपत् व्यवस्थापन समितिका संयोजक तथा प्रमुख जिल्ला पन्तले जानकारी दिनुभयो । वर्षा नसकिएकाले अझै बाढी तथा पहिरोको जोखिम कायमै रहेकाले जिल्लावासीलाई सतर्कता अपनाउन जिल्ला विपत् व्यवस्थापन समिति रुकुम पश्चिमले आग्रह गरेको छ ।