रुकुम पश्चिममा निजामती सेवा दिवसको अवसरमा ब्याडमिन्टन प्रतियोगिता सुरु भएको छ । निजामती सेवा दिवस मूल समारोह समितिको आयोजनामा जिल्ला सदरमुकाम मुसिकोट खलङ्गामा बिहीबार बिहान महिला तथा पुरुष ब्याडमिन्टन प्रतियोगिता सुरु भएको हो । खेल सञ्चालक उप समितिका संयोजक ताराप्रकाश पुन मगरका अनुसार निजामती कर्मचारीहरूका बिचमा प्रतिस्पर्धा हुने गरी प्रतियोगिता आयोजना गरिएको हो । प्रतियोगितामा महिला तर्फ ५ र पुरुष तर्फ १४ जोडीको सहभागिता रहेको छ ।
प्रतियोगितामा स्थान हासिल गर्ने जोडीलाई कप, मेडल र प्रमाणपत्रको व्यवस्था गरिएको खेल संयोजक पुनले जानकारी दिनुभयो । खलङ्गाको बराहटाकुरास्थित कबर्डहलमा सुरु भएको प्रतियोगिता भोली सकिने छ । प्रतियोगिताको आज एक कार्यक्रमका बिच उद्घाटन गरिएको हो ।
निजामती सेवा दिवस मूल समारोह समितिका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्तको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला न्यायाधिवक्ता चन्द्रबहादुर सिँजाली, जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक नवराज पोखरेल, सशस्त्र प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक मदनबहादुर धानुक, प्रमुख अनुसन्धान अधिकृत चिरञ्जीवी बुढा, सहायक प्रमुख जिल्ला अधिकारी विनोद रेग्मी, जिल्ला ब्याडमिन्टन सङ्घका अध्यक्ष अनिल बुढा लगायतको आतिथ्यता रहेको थियो । कार्यक्रमको सञ्चालन खेल संयोजक ताराप्रकाश पुनले गर्नुभएको थियो । खले भोली सकिने र पुरस्कार भने निजामती सेवा दिवसको दिन पर्सी शनिवार वितरण गरिने बताइएको छ ।