Kakhara सबैको खबर सम्पूर्ण खबर
रुकुम पश्चिममा भूकम्प गएको १० महिनामा अस्थायी आवास निर्माण नै सकिएन  
रुकुम पश्चिमकाे सानीभेरी गाउँपालिका वडा नम्बर २ काे गिठाकाेटमा निर्माण गरिएका भूकम्प प्रभावितका अस्थायी आवास ।

गत कार्तिक १७ गते जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्प प्रभावित रुकुम पश्चिममा अझै पनि अस्थायी आवास निर्माण सकिएको छैन । जिल्ला प्रशासन कार्यालयका अनुसार भूकम्प गएको १० महिनामा पनि अस्थायी आवास निर्माण नै सकिएको छैन । जिल्लामा अझै ५ सय २३ अस्थायी आवास निर्माणाधीन अवस्थामा रहेका छन् । 

जिल्लामा लाभग्राही कायम भएका सबै भूकम्प प्रभावितले अस्थायी आवास निर्माण गरिनसकेको स्थानीय तहबाट जिल्ला प्रशासन कार्यालयमा प्राप्त विवरणले देखाएको छ । लाभग्राही कायम भएका मध्ये दुई सय ७१ वटा अस्थायी आवास निर्माणको प्रगतिबारे कुनै जानकारी छैन । विवरण अनुसार जिल्लामा ३२ हजार २ सय २ वटा अस्थायी आवास निर्माण भएका छन् । 

जिल्लामा ३२ हजार ९ सय ९६ लाभग्राही कायम भएकामा अझै पाँच सय २३ वटा अस्थायी आवास निर्माणाधीन अवस्थामा रहेको देखिएको छ । भने दुई सय ७१ को बारे कुनै जानकारी छैन । त्यस्तै सङ्घ संस्थाबाट जिल्लामा चार सय नौ वटा अस्थायी आवास निर्माण भएका छन् । सङ्घ संस्थाबाट निर्माण भएका अस्थायी आवासका लाभग्राहीलाई जिल्ला विपत् व्यवस्थापन समितिबाट कायम भएका लाभग्राहीमा नसमेटिएको बताइएको छ । 

अस्थायी आवासका लागि जिल्ला भरमा ८२ करोड ४९ लाख रकम निकासा भइसकेको छ । उक्त रकम जिल्ला विपत् व्यवस्थापन समितिबाट अस्थायी आवास निर्माणका लागि स्थानीय विपत् व्यवस्थापन समितिमा पठाइएको छ । जिल्लामा सबैभन्दा बढी लाभग्राही आठबिसकोट नगरपालिकामा १० हजार तीन सय ९४ जना कायम भएकामा नौ हजार नौ सय १८ अस्थायी आवास निर्माण भएका छन् । 

आठबिसकोटमा २५ करोड ९८ लाख ५० हजार रकम पठाइएको छ । निर्माणाधीनमध्ये पनि सबैभन्दा बढी आठबिसकोट नगरपालिकामा चार सय पाँच वटा अस्थायी आवास रहेका छन् । भूकम्पबाट धेरै प्रभावित मध्येको अर्को स्थानीय तह सानीभेरी गाउँपालिकामा ६ हजार ७४ लाभग्राही कायम भएकामा सबै अस्थायी आवास निर्माण भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । 

सानीभेरीमा १५ करोड ५० लाख १८ हजार बजेट गएको छ । चौरजहारी नगरपालिकामा सात हजार पाँच सय दुई लाभग्राही कायम भएकामा सात हजार तीन सय ५४ अस्थायी आवास निर्माण भएका छन् भने १८ करोड ७५ लाख ५० हजार बजेट गएको छ । त्रिवेणी गाउँपालिकामा कायम भएका सबै चार हजार सात सय २५ वटा अस्थायी आवास निर्माण हुँदा ११ करोड ८१ लख ५० हजार बजेट गएको छ भने बाँफिकोट गाउँपालिकामा दुई हजार ६ सय ४१ लाभग्राही कायम भएकामा दुई हजार पाँच सय २३ अस्थायी आवास निर्माण भएका छन् । 

बाँफिकोटमा ६ करोड ६० लाख ५० हजार बजेट गएको छ । यहाँ एक सय १८ वटा अस्थायी आवास निर्माण हुन बाँकी देखिएको छ । जिल्ला सदरमुकाम मुसिकोट नगरपालिकामा चार करोड १५ लाख बजेट गएको छ । यहाँ एक हजार ६ सय ६० लाभग्राही कायम हुँदा एक हजार ६ सय आठ वटा अस्थायी आवास बनेका छन् । जिल्लाका भूकम्प प्रभावित सबैले पहिलो किस्ता नै पाउन सकेका छैनन् । दोस्रो किस्ता वितरण सुरु भइसकेकोमा पहिलो किस्ता नै पुरा वितरण हुन सकेको छैन ।     

प्रकाशित मिति: बिहीबार, भदौ २०, २०८१  १८:२९
प्रतिक्रिया दिनुहोस्
Weather Update