कर्मफ्लाइट्स फाउन्डेशन नेपालको आयोजना र आइएनएफ नेपाल हरियोखर्क अस्पताल पोखराको सहजीहरणमा अस्पतालकै परिसरमा ३ दिने स्वास्थ्य सम्बन्धी तालिम पाेखरामा सञ्चालन भएको छ । बागलुङ जिल्लाको पश्चिम क्षेत्रका ४ वटा पालिका अन्तर्गतका सरकारी स्वास्थ्य संस्थाहरूमा सेवारत स्वास्थ्यकर्मीहरुलाई भदौ १७-१९ गतेसम्म प्रशामक (प्यालिएटिभ केयर) टुल किट तालिम कास्कीकाे पाेखरामा प्रदान गरिएको हो । ३ दिने तालिममा प्रशिक्षार्थीलाई १९ थरीका दीर्घ रोगीलाई कसरी स्याहारसुसार गर्ने, उनीहरूको अन्तिम अवस्थामा कसरी सहजीकरण गर्ने, मृत्युलाई सुन्दर बनाउन अप्रिय समाचारलाई कसरी प्रक्षेपण गर्ने र रोगीका परिवारलाई रोगीको उपचार, स्याहारसुसार र व्यवस्थापन गर्ने बारे सुझाव र परामर्श दिने लगायत विषयमा दीक्षित गरिएको थियो ।
समापन तथा प्रमाणपत्र वितरण कार्यक्रममा प्रमुख अतिथि गण्डकी प्रदेश सभा सदस्य द्रोणकुमार कुँवरले यस प्रकारको विशिष्टीकृत सेवा तथा तालिम प्रदान गर्ने संस्था कर्मफ्लाइट् फाउन्डेसन र आइएनएफ नेपाल हरियोखर्क अस्पतालको प्रशंसा गर्दै अस्पतालको उत्कृष्ट व्यवस्थापन र बिरामी समर्पित सेवा आफ्नो लागि पनि अनुकरणीय भएको र सेवा सुविधा ग्रामीण परिवेशका बुर्तिवाङ प्राथमिक स्वास्थ्य केन्द्र लगायत सबै स्वास्थ्य संस्थामा पुर्याउने अभियानमा जोडिने सबै स्वास्थ्यकर्मीलाई धन्यवाद दिनुभयो । सो भेगका आवाज विहीन जनताको आवाज, आशा र भरोसा बन्नु सबै स्वास्थ्यकर्मीलाई अनुरोध पनि गर्नुभयो ।
अस्पतालका मे.सु डा. सुमन तामाङले प्रशिक्षार्थीहरुले व्यक्त गरेको उत्साहपूर्ण भावनाले वास्तवमै तालिमको उद्देश्य प्राप्त गर्नमा सघाउ पुर्याउने विश्वास व्यक्त गर्नुभयो । आफू पनि प्रशामक सेवा चाहिने बिरामीको हेरचाह गर्ने कुरामा सधैँ साथमा रहने उहाँको भनाई छ । निसी, भुजी तमानखोला तथा बडिगाडको विकट भुगोल र ग्रामीण परिवेश तथा स्वास्थ्य सेवामा रहेका अप्ठेराहरू आफूले नजिकबाट नियालेको बताउँदै तालिममा निरन्तर सहकार्य गर्न पाएकोमा खुसी व्यक्त गर्नुभयो ।
अस्पताल सर्भिस डाइरेक्टर डा. अरुण कुमार बुढाले सन् १९९१ मा काठमाडौँको वीर अस्पतालमा ओन्कोलोजी विभागको स्थापनासँगै नेपालमा क्यान्सर रोगीहरूको लागि प्यालिएटिभ केयर सेवाहरू सुरु भएको र पछि आईएनएफले सन् २००९ देखि पोखरामा रहेको ग्रीन पास्चर अस्पताल मार्फत यस क्षेत्रमा महत्त्वपूर्ण योगदान पुर्याउँदै नेपालका लागि युनाइटेड मिसन र इन्टरनेसनल नेटवर्क फर क्यान्सर ट्रिटमेन्ट एण्ड रिसर्च (आईएनसीटीआर) जस्ता अन्य संस्थाहरूसँग मिलेर महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आएको बताउनुभयो ।
प्यालिटिभ केयर विभागीय प्रमुख डा सुनिता श्रेष्ठले तालिमको आयोजना गर्ने कर्मफ्लाइट्स र नेपाल इज च्यारिटि युकेलाई धन्यवाद ज्ञापन गर्दे निरन्तर सिकाई र समस्या समाधानको लागि सोधनी भएमा आफूहरू खुला विद्यालय जस्तै सधैँ साथमा रहने बताउनु भयो । सहभागीहरूको तर्फबाट आफ्ना अनुभव राख्दै तमानखोला गापा स्वास्थ्य संयोजक तिलबहादुर छन्त्यालले तालिममा आउन पूर्व प्यालिटिभ केयरको बारेमा आफ्नो धारणा अहिले फराकिलो भएको र प्यालिटिभ केयरको सिकाई र विषयवस्तु र गहिराइको हिसाबले ३ दिने समय पर्याप्त नभएको बताउनुभयो ।
महिला प्रशिक्षार्थीको प्रतिनिधित्व गर्दे बुर्तिवाङ प्राथमिक स्वास्थ्य केन्द्रका नर्सिङ अफिसर स्मृति कँडेलले तातिमले प्यालिटिभ केयर सम्बन्धी आफ्ना दृष्टिकोणमा खुलापन आएको र आगामी दिनमा बुर्तिवाङ प्राथमिक स्वास्थ्य केन्द्रको स्तरोन्नति भएर प्रादेशिक अस्पताल भइरहदा ४ वटै पालिकामा विशिष्ट सेवा प्रदान गर्न प्रतिबद्धता जनाउनुभयो । आयोजकको तर्फबाट कर्मफ्लाइट्सका कार्यक्रम निर्देशक प्रेमबहादुर कुँवरले तालिममा सहभागी सम्पूर्ण स्वास्थ्यकर्मी, प्रशिक्षक टोली आइएनएस नेपाल, हरियोखर्क अस्पताल परिवारलाई धन्यवाद र कृतज्ञता व्यक्त गर्नुभयो ।
संस्थाका स्वास्थ्य संयोजक कृष्णप्रसाद पाण्डेको अध्यक्षता र रेणुका कार्कीको सञ्चालन रहेको तालिममा ढोरपाटन नगरपालिकाको बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्र, तमानखोला गाउँपालिकाका खुंखानी स्वास्थ्य चौकी, तमानखोला आधारभूत अस्पताल, तमान स्वास्थ्य चौकी, तमानखोला गापा स्वास्थ्य शाखा, तमान आधारभूत स्वास्थ्य सेवा केन्द्र र गर्जाखानी आधारभूत स्वास्थ्य सेवा केन्द्र, बडिगाड गाउँपालिकाका दगातुन डाँडा स्वास्थ्य चौकी, रणसिंहकिटेनी स्वास्थ्य चौकी, भिमगिठे स्वास्थ्य चौकी, दर्लिङ स्वास्थ्य चौकी, दर्लिङ BHSC, ग्वालीचौर CHU र निसीखोला गाउँपालिकाका राजकुट स्वास्थ्य चौकी, बोहरागाउँ स्वास्थ्य चौकी र निसी स्वास्थ्य चौकीको सहभागिता रहेको थियो ।